रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा, उच्चस्तरीय भेटवार्ता गर्ने

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौँ । रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन्। उनी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन्। भ्रमणका दौरान उनले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। साथै, व्यक्तिगत भ्रमणका क्रममा अयोध्या जाने कार्यसूची पनि रहेको बताइएको छ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला ले पनि विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमणको पुष्टि गरेका छन्। उनका अनुसार नयाँ दिल्लीमा भाजपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता हुनेछ।

लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेलप्रदीप आचार्य सहभागी रहनेछन्। रास्वपाले भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक संवाद तथा आपसी सहयोगका विषयमा केन्द्रित कूटनीतिक अवसरका रूपमा लिएको जनाएको छ।