कम्युनिस्ट पार्टी पुनर्गठनबारे छलफल भइरहेको छ : अग्नि सापकोटा

कम्युनिस्ट पार्टी पुनर्गठनबारे छलफल भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटा ले कम्युनिस्ट शक्तिहरूबीच पुनर्गठन र मोर्चाबन्दीका विषयमा छलफल भइरहेको बताएका छन् ।

नेकपा स्थानीय तह विभागद्वारा आयोजित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला’पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यसहित जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो । उनले वर्तमान प्रविधिमैत्री युगमा विचार र विधिसँगै प्रविधिको प्रयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

सापकोटाले पहिले आफ्नै पार्टीलाई थप एकताबद्ध बनाउने र त्यसपछि संयुक्त मोर्चा निर्माण वा कम्युनिस्ट पार्टी पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको उल्लेख गरे ।

त्यस्तै, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने तथा कार्यक्रममा सहभागी नहुने विषयप्रति टिप्पणी गर्दै उनले यसलाई अस्वाभाविक कदमको संज्ञा दिएका छन् । यस्तो गतिविधिले गणतन्त्र पक्षधर नागरिकको भावनामा चोट पुग्ने उनको भनाइ थियो ।