‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुग्दै रविन्द्र ढाँटले रचे इतिहास

‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुग्दै रविन्द्र ढाँटले रचे इतिहास

काठमाडौँ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन–५ को सेमिफाइनलमा स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेका छन् ।

चीनको ग्यालेक्सी एरेना मा सम्पन्न ब्यान्टमवेट क्वाटरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोन लाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले दोस्रो राउण्डमै विपक्षीलाई दबाबमा पार्दै जित निकालेका थिए । योसँगै उनले आफ्नो व्यावसायिक एमएमए करियरको १०औँ जित दर्ता गरेका छन् ।

प्रतिस्पर्धाभर रविन्द्रले आक्रामक खेल प्रस्तुत गर्दै अनुभवी फाइटर किम्बर्टलाई लगातार दबाबमा राखेका थिए ।

यसअघि भारतको मेट्रिक्स फाइट नाइट मा च्याम्पियन बनेका रविन्द्रले सुरुमा म्याटी इआनसँग खेल्ने तय भएको थियो । तर, इआन घाइते भएपछि अन्तिम समयमा किम्बर्टसँग उनको प्रतिस्पर्धा भएको हो ।

जितपछि ढाँटले विश्वभर रहेका नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्ने बताएका छन् ।

उनको ऐतिहासिक जितपछि प्रतियोगिता स्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो । रविन्द्रले पनि उत्साहित हुँदै ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी व्यक्त गरेका थिए ।