सरकारद्वारा अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १,५३५ डलर हुने प्रक्षेपण

सरकारद्वारा अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १,५३५ डलर हुने प्रक्षेपण

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको जानकारी दिएका हुन्।

सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादन (GDP) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने उल्लेख गरिएको छ।

साथै, सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको भए पनि नेपालको अर्थतन्त्र भने चालू आर्थिक वर्षमा ३.८५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ।