

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेको भन्दै सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ।
स्वास्थ्य बीमा बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध गराइँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बीमा सेवा स्थगित हुनेछन्।
यो निर्णय बोर्डको जेठ ११ गते बसेको बैठकले गरेको हो। निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवा प्रभावित हुने भएका छन्। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।
हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन्।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा परेको भन्दै आलोचना बढ्न थालेको छ।
स्रोतका अनुसार सरकारले निजी अस्पताललाई दिनुपर्ने अर्बौं रुपैयाँ लामो समयदेखि भुक्तानी नगर्दा सेवा प्रदायक संस्थाहरू दबाबमा परेका छन्। बीमा बोर्डकै तथ्यांकअनुसार हालसम्म सेवा प्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले कार्यक्रमको दिगोपन, सेवा गुणस्तर र वित्तीय व्यवस्थापनमा सरकारले पर्याप्त ध्यान नदिँदा स्वास्थ्य बीमा कार्यक्रम धराशायी हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
निजी अस्पतालहरूले पनि लामो समयदेखि बीमावापतको रकम नपाएको, दाबी भुक्तानी अड्किएको तथा प्रक्रियागत झन्झट बढेको गुनासो गर्दै आएका थिए। केही अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए। अब बोर्डले नै सेवा स्थगन गरेपछि स्वास्थ्य बीमा कार्यक्रम थप संकटमा परेको देखिएको छ।