प्रधानमन्त्री संसद्मा नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान

प्रधानमन्त्री संसद्मा नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभामा उपस्थित नभएसम्म सदनको कामकारबाही अघि बढ्न नदिने अडान लिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले बोल्न समय दिएका थिए ।

त्यस क्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन सञ्चालन हुन नदिने स्पष्ट गरेका हुन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताइन् । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबै पक्षले संविधान र कानुनको पालना गर्दै अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्री केही समयका लागि भए पनि संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिनुपर्ने धारणा राखे ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संसद्मा देखिएको अवस्थाले आगामी पुस्तालाई दिने सन्देशप्रति ध्यान दिनुपर्ने बताए । उनले शक्तिको दम्भ स्थायी नहुने भन्दै लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्नुपर्ने टिप्पणी गरे ।

राप्रपाकी प्रमुख सचेतक खुसीबु ओलीले प्रधानमन्त्रीको उपस्थितिका लागि सत्तारुढ दलले पनि पहल गर्नुपर्ने बताइन् । उनले प्रधानमन्त्रीले जनप्रतिनिधिसँग संवाद नगरेकोप्रति प्रश्न उठाइन् ।