काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) छिट्टै प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने तयारीमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै निरन्तर विरोध जनाइरहेका बेला सभामुख अर्यालले यस विषयमा आफूले निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
उनले प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग संविधान, नियमावली र कानुनसम्मत रहेको उल्लेख गर्दै जनताको अपेक्षा पनि यही रहेको बताए ।
सभामुख अर्यालले विपक्षी दलका नेताहरू तथा सत्तापक्षका मुख्य सचेतकसँग समेत निरन्तर छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीसँग पनि प्रत्यक्ष संवाद भइरहेको छ र प्रधानमन्त्री सदनमा उठिरहेका विषयबारे जानकार छन् ।
सभामुखले सत्ता पक्षका मुख्य सचेतकमार्फत प्राप्त जानकारी उद्धृत गर्दै प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिन तयारी गरिरहेको बताए । उनले छिट्टै प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।