

काठमाडौं । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णप्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
यस्तै, प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आजैदेखि छलफल सुरु हुने भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्ताव पेश गरेका थिए ।