लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

रूपन्देही । लुम्बिनी प्रदेश सभा को आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ।

बैठकको सुरुआतमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि जन्मजय तिमिल्सिना ले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा प्रस्तुत गर्नेछन्।

त्यसैगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर द्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमको एक प्रति चेतनारायण आचार्य ले सभामा पेश गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी ले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नेछन् भने उक्त प्रस्तावलाई जमुना ढकाल ले समर्थन गर्नेछिन्।

त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा मुख्यमन्त्री आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथिको छलफलपछि प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नेछन्।