

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेकाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा–हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ।
कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।