

काठमाडौँ । कोलम्बियाकी पप स्टार शाकिरा ले सन् २०२६ को फिफा विश्वकपका लागि आधिकारिक गीत सार्वजनिक गरेकी छन्। ‘व्हेनेभर, व्हेरेभर’ र Hips Don’t Lie जस्ता चर्चित गीतकी ४९ वर्षीया गायिकाले ‘डाइ डाइ’ नामक गीतलाई अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपको एन्थमका रूपमा सार्वजनिक गरेकी हुन्।
उक्त गीतमा बर्ना ब्वाय को पनि सहभागिता रहेको छ। दक्षिण अफ्रिकामा आयोजित सन् २०१० को विश्वकपका लागि Waka Waka (This Time for Africa) सार्वजनिक गरेपछि यो शाकिराको दोस्रो आधिकारिक विश्वकप एन्थम हो।
त्यसपछि उनले सन् २०१४ को ब्राजिल विश्वकपका लागि La La La (Brazil 2014) पनि गाएकी थिइन्, जुन उनले रियो दि जेनेरियोमा भएको समापन समारोहमा प्रस्तुत गरेकी थिइन्।
शाकिराले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकप समापन समारोहमा पनि ‘हिप्स डन्ट लाइ’ प्रस्तुत गरेकी थिइन्। उनको पूर्व सम्बन्ध जेरार्ड पिके सँगबाट दुई सन्तान रहेका छन्। पिके स्पेन तथा एफसी बार्सिलोना का पूर्व डिफेन्डर हुन्।
शाकिराको देश कोलम्बिया पनि ११ जुनदेखि १९ जुलाईसम्म सञ्चालन हुने ४८ टोली सहभागी विश्वकप प्रतियोगितामा सहभागी हुने भएको छ।