

काठमाडौँ । देशका विभिन्न स्थानमा शनिबार अपराह्नदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षा गराउने मौसम प्रणाली पूर्वतर्फ सर्दै गएको छ। यसका कारण प्रभावित क्षेत्र आसपासका जिल्ला तथा बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।”