

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगरस्थित कोइराला निवास पुगेका छन्। उनी आज बिहान नेता शेखर कोइराला बस्दै आएको निवासमा पुगेका हुन्। कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु आफ्नो जिम्मेवारी भएको बताए।
उनले भने, “पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो। हामी सबै साथीहरू मिलेर प्रयास गरिरहेका छौँ। सबै नेताहरूले अहिलेको अवस्था र यसको गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ।”
थापाले केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिएको बताए। उनका अनुसार सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति तथा निर्वाचन समिति गठन सबै पक्षको सल्लाह र सहमतिमा गर्न आफू तयार रहेका छन्।
उनले भने, “पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति सबैको सहमतिमा बनाउन तयार छौँ। सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ।”
सभापति थापाले पार्टी विधानविपरीत गतिविधि गर्ने तथा पार्टीको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई भने अब छुट नदिइने स्पष्ट पारे। उनले भने, “सबैलाई समेटेर अघि बढ्ने वातावरण बनाइसकेपछि अब अनुहार मन परेन भन्ने बाहेक असन्तुष्टि राख्ने ठाउँ रहँदैन।” थापाले नेपाली कांग्रेस विभाजनतर्फ जाने कुनै अवस्था नरहेको पनि जिकिर गरे।