

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई “अत्यन्त सफल र विश्वव्यापी रूपमा अविस्मरणीय” भएको बताएका छन् ।
बेइजिङको दुई दिने भ्रमण पूरा गरी ट्रम्प वासिङ्टन फर्किएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले भने राष्ट्रपति सी जिनपिङले उक्त भेटलाई “ऐतिहासिक र कोसेढुङ्गा” को रूपमा चित्रण गरेको जनाएको छ ।
तर, दुई देशबीच कुनै ठूलो व्यापारिक सम्झौता वा नयाँ सहमति सार्वजनिक गरिएको छैन । ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्ने अपेक्षा गरिएको छ, जसबाट भेटवार्ताबारे थप विवरण बाहिर आउने सम्भावना छ ।
भेटका क्रममा व्यापार, तेल आपूर्ति, इरान र ताइवानलगायतका विषयमा छलफल भएको बताइएको छ ।
ट्रम्पले यसअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए । साथै, चीनले हर्मुज जलडमरू खुला राख्न चाहेको र अमेरिकासँग तेल खरिद गर्न सहमत भएको पनि उनले बताएका थिए ।
तर हालसम्म दुवै पक्षले वार्ताका ठोस नतिजा वा कुनै औपचारिक सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।