

काठमाडौं । नेकपाका सांसद मातृका यादवले सरकारले समाजवाद उन्मुख बाटो समात्दै राष्ट्रिय उद्योगहरू पुनः सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू संशोधन प्रस्ताव होइन, सरकारलाई सुझाव दिन आएको उल्लेख गर्दै प्रधानमन्त्रीप्रति व्यंग्यसमेत गरे ।
उनले प्रधानमन्त्रीलाई ‘संशोधन’ शब्दप्रति एलर्जी भएजस्तो लागेको टिप्पणी गर्दै त्यसकै कारण प्रधानमन्त्री संसदमा उपस्थित नभएको आरोप लगाए । उनले भने, “मेरो संशोधन होइन, मेरो सुझावहरू हुन् । प्रधानमन्त्रीजीलाई संशोधन शब्दबाट एलर्जी छ कि जस्तो लाग्छ, त्यसैले उहाँ आइराख्नु भएको छैन ।”
सांसद यादवले संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच संवाद, सहकार्य र साझा समझदारीको संस्कृति विकास गर्न आवश्यक रहेको बताए । उनले नीति तथा कार्यक्रम निर्माणमा सबै दलबीच दोहोरो छलफल र सहमतिको अभ्यास हुनुपर्ने धारणा राखे ।
उनले भने, “हामीले इगो छोडौँ र संवाद तथा सहकार्य गर्ने परम्पराको थालनी गरौँ । सत्ता पक्ष र विपक्षका सबैले बसेर सुझावसहित नीति यहाँ ल्याउनुपर्थ्यो भन्ने मेरो आग्रह छ ।”
सांसद यादवले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत समाजवाद उन्मुख व्यवस्था अवलम्बन गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सरकारले त्यसअनुसार आर्थिक र औद्योगिक नीति अघि बढाउनुपर्ने बताए ।
उनले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका राष्ट्रिय उद्योगहरू तत्काल पुनः सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले जनकपुर चुरोट कारखाना, गोरखकाली टायर उद्योग, हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, विराटनगर जुट उद्योग, वीरगन्ज चिनी कारखाना तथा बुटवल धागो उद्योग पुनः सञ्चालन गर्न सरकारसँग माग गरे ।