

काठमाडौं । राप्रपाले मधेश प्रदेशमा प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।
यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन विच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पदबाट फिर्ता बोलाइएको थियो।
पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेपछि विच्छामाथि कारबाही गरिएको र त्यसविरुद्ध उनले अदालतमा दायर गरेको रिटसमेत खारेज भएपछि उनको सांसद पद समाप्त भएको थियो।
रिक्त रहेको उक्त पदमा नयाँ सदस्य सिफारिस गर्न निर्वाचन आयोगबाट पत्र प्राप्त भएपछि राप्रपाले सोही समानुपातिक क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरेको जनाएको छ।
निर्वाचन आयोगले ठाकुरलाई बुधबार प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।
पार्टीले दिएको जिम्मेवारी र निर्णयविपरीत कदम चालेपछि विच्छा कारबाहीमा परेको र अदालतले पनि उनको दाबी अस्वीकार गरेको राप्रपाको भनाइ छ।