मुख स्वास्थ्यबारे फैलिएका भ्रम चिर्दै चिकित्सक-‘वैज्ञानिक तथ्य अपनाउन आवश्यक’

मुख स्वास्थ्यबारे फैलिएका भ्रम चिर्दै चिकित्सक-‘वैज्ञानिक तथ्य अपनाउन आवश्यक’

काठमाडौं । हाम्रो समाजमा मुख स्वास्थ्यसम्बन्धी विभिन्न भ्रमहरू गहिरो रूपमा जरा गाडेर बसेका छन्। वैज्ञानिक तथ्यविपरीत यस्ता गलत बुझाइहरू अझै पनि सर्वसाधारणबीच प्रचलित छन्, जसले दाँत र गिजाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको चिकित्सकहरू बताउँछन्।

भरतपुर अस्पतालका कन्सल्टेन्ट प्रोस्थोडोन्टिस्ट डा. पदम नेपालीका अनुसार दाँत सफा गर्दा कमजोर हुने, बच्चाको दाँत उपचार नगर्दा पनि फरक नपर्ने, दुखाइ नभएसम्म समस्या नहुनेजस्ता धारणा पूर्णतः गलत छन्।

उनका अनुसार दाँतमा जम्ने ‘डेन्टल प्लाक’ र ‘क्याल्कुलस’मा रहेका जीवाणुले गिजा र हड्डीमा क्षति पुर्‍याउने भएकाले नियमित रूपमा दाँत सफा गर्नु अत्यावश्यक हुन्छ। चिकित्सकको सल्लाहअनुसार ६ महिना वा वर्षमा एकपटक स्केलिङ गराउनु उपयुक्त हुने उनको सुझाव छ।

बालबालिकाको दाँतका सन्दर्भमा पनि गलत धारणा रहेको उनले बताए। सुरुमा आउने दूधे दाँत साटिने भए पनि समयअघि निकाल्दा स्थायी दाँतको संरचनामा असर पर्ने भएकाले आवश्यक परे ‘फिलिङ’ गरेर जोगाउनुपर्ने उनले बताए।

त्यस्तै, दाँत दुखेको छैन भने किरा लागेको छैन भन्ने बुझाइ पनि भ्रम मात्र भएको चिकित्सकहरूको भनाइ छ। दाँतको भित्री भागसम्म असर नपुगेसम्म दुखाइ नदेखिन सक्छ, त्यसैले नियमित परीक्षण आवश्यक हुने उनीहरू बताउँछन्।

कडा ब्रसले जोडले माझ्दा दाँत झन् सफा हुन्छ भन्ने धारणा पनि गलत रहेको चिकित्सकहरू बताउँछन्। यसले दाँतको बाहिरी तह खिइने, संवेदनशीलता बढ्ने र अन्य समस्या निम्त्याउने भएकाले नरम ब्रस प्रयोग गर्न सल्लाह दिइएको छ।

त्यसैगरी, दाँत किराले खायो भने निकाल्नैपर्छ भन्ने धारणा पनि सही नभएको जनाइएको छ। सामान्य अवस्थामा ‘फिलिङ’ र आवश्यक परे ‘रुट क्यानल ट्रीटमेन्ट (RCT)’ मार्फत दाँत जोगाउन सकिने चिकित्सकहरू बताउँछन्।

डा. नेपालीका अनुसार मुख स्वास्थ्यसम्बन्धी यस्ता भ्रमहरू हटाएर वैज्ञानिक तथ्य अपनाउनु अहिलेको आवश्यकता हो। उनले अफवाहको पछि लाग्नुभन्दा चिकित्सकको सल्लाहअनुसार नियमित सरसफाइ, परीक्षण र सन्तुलित खानपानमा ध्यान दिन आग्रह गरेका छन्।