

काठमाडौं । नदीकिनारका अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्। काठमाडौं महानगरपालिकाका अनुसार राधास्वामी सत्संग व्यास आश्रम (होल्डिङ सेन्टर) मा राखिएका बालबालिकामध्ये ५२ जनालाई वडा नं. १४ स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरेर पढाइ सुरु गरिएको हो।
महानगरको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरी उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि मंगलबारदेखि विद्यालय पठाउने व्यवस्था मिलाइएको जनाएको छ।
नदी किनारामा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगललगायत क्षेत्रबाट ल्याइएका ६६ परिवारका २०३ जना हाल उक्त आश्रममा बसोबास गरिरहेका छन्।
तीमध्ये ३० जना बालबालिकाका अभिभावकले आफ्ना सन्तानलाई छात्रावासमा राखेर पढाउन इच्छा व्यक्त गरेका छन्। महानगरले अभिभावकको धारणा बुझ्न फाराम भराएको थियो।
फारामअनुसार ५ जना छात्रा र ६ जना छात्रले छात्रावासमा बस्न अनिच्छा देखाएका छन् भने अन्य केही अभिभावकको धारणा अझै स्पष्ट हुन बाँकी रहेको जनाइएको छ।
शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार हालसम्म ११ जना छात्रा र १९ जना छात्र छात्रावासमा बस्न इच्छुक देखिएका छन्।