देशभर मनाइँदै २५७०औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम

देशभर मनाइँदै २५७०औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम

रुपन्देही । २५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एउटै दिन परेकाले यस दिनलाई ‘त्रिसंयोग दिवस’का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले समान श्रद्धाका साथ बुद्धको पूजा–आराधना गर्ने परम्परा छ । यस अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।

यस वर्ष बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी विकास कोषको आयोजनामा हुने समारोहमा सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा बिहानैदेखि पूजा–अर्चना तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै स्वयम्भूनाथबौद्धनाथ स्तूपलगायत देशभरका गुम्बा, विहार र चैत्यहरूमा पनि विशेष पूजा भइरहेको छ ।

परम्पराअनुसार बुद्धले प्रतिपादन गरेको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीललाई मानव जीवनका लागि मार्गदर्शक मानिन्छ । सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका लगायतका सिद्धान्तले शान्ति, अनुशासन र नैतिक जीवनशैलीमा जोड दिन्छन् ।

लुम्बिनी विकासको गुरुयोजना अझै अधुरो

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले जापानी वास्तुकार केन्जो टाँगेको नेतृत्वमा गुरुयोजना तयार गरिएको थियो ।

गुरुयोजनाअनुसार पवित्र उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विकास गर्ने लक्ष्य राखिएको भए पनि धेरै महत्वपूर्ण पूर्वाधार अझै निर्माणाधीन छन् ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झन् उजागर भइरहेका बेला यसको समग्र विकास र गुरुयोजनाको पूर्ण कार्यान्वयनमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।