

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन्।
अमेरिका र इरान बीच दुई साताका लागि लागू गरिएको युद्धविरामको अवधि आज सकिन लागेका बेला स्थायी शान्तिका लागि थप कूटनीतिक प्रयास आवश्यक देखिएको भन्दै समय लम्ब्याइएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत पाकिस्तान मा अमेरिका–इरानबीच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले युद्धविराम कायम राखिएको बताएका छन्। उनले होर्मुज जलडमरूमध्य मा नाकाबन्दी भने यथावत् राखिने स्पष्ट पारे।
उनका अनुसार इरानभित्र आन्तरिक विभाजन देखिएकाले पाकिस्तानका नेतृत्वले वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्। ट्रम्पले पाकिस्तानका सेना प्रमुख फील्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरीफ को अनुरोधमा युद्धविराम लम्ब्याइएको जनाएका छन्।
यस निर्णयप्रति प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई धन्यवाद दिँदै वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्। उनले इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट दिगो शान्ति सम्झौता हुने आशा व्यक्त गरे।
यद्यपि उक्त वार्ता कहिले हुने भन्नेबारे औपचारिक मिति तय भइसकेको छैन। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान जाने तयारीमा रहेका भए पनि इरानको अनिच्छाका कारण भ्रमण स्थगित गरिएको ह्वाइट हाउस ले जनाएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्व मध्यपूर्वभर फैलिएको थियो। युद्धविरामपछि इजरायल र अमेरिकाले इरानमाथिको आक्रमण रोके पनि लेबनन मा भने इजरायली कारबाही जारी रहेको बताइएको छ।
यसबीच, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा तनाव कायमै रहेकाले क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील बनेको छ।