इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन, २१ घण्टे छलफल बिना सहमति टुंगियो

इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन, २१ घण्टे छलफल बिना सहमति टुंगियो

इस्लामावाद । अमेरिकाइरान बीच भएको बहुप्रतीक्षित शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ। करिब २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी पक्षले इरान आफ्ना सर्तहरूमा सहमत नभएको भन्दै वार्ता निष्कर्षविहीन भएको जनाएको हो।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै जेडी भान्स ले अमेरिकाले आफ्नो ‘रेड लाइन’ स्पष्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले अमेरिकाले ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको उल्लेख गर्दै अब निर्णय इरानकै हातमा रहेको बताए।

अमेरिकी प्रतिनिधिमण्डलमा जारेड कुश्नरस्टिभ विट्कफ समेत सहभागी थिए। भान्सले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै आफ्नो सरकारको मुख्य लक्ष्य रहेको दोहोर्‍याउँदै इरानले भविष्यमा परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म कुनै सम्झौता सम्भव नभएको स्पष्ट पारे।

वार्ता असफल भए पनि पाकिस्तान को मध्यस्थ भूमिका अमेरिकाले सराहना गरेको छ। भान्सले पाकिस्तानी नेतृत्वलाई धन्यवाद दिँदै वार्ता निष्कर्षमा नपुग्नुमा पाकिस्तान जिम्मेवार नभएको बताएका छन्।

यता, इरानको विदेश मन्त्रालयले भने अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू अघि सारेको आरोप लगाएको छ। इरानले आफू वार्तामा सकारात्मक सोचसहित सहभागी भएको भए पनि आफ्ना वैध अधिकार र स्वार्थको सम्मान हुनुपर्ने अडान दोहोर्‍याएको छ।

दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव समाधान गर्ने महत्वपूर्ण प्रयास हालका लागि असफल बनेको छ।