क्षयरोग अन्त्यतर्फ राष्ट्रिय प्रतिबद्धता : जनचेतना र सहभागितामा जोड

क्षयरोग अन्त्यतर्फ राष्ट्रिय प्रतिबद्धता : जनचेतना र सहभागितामा जोड

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। क्षयरोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष मार्च २४ मा यो दिवस मनाउने गरिन्छ।

सन् २०३५ सम्म देशबाट क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यस वर्ष पनि दिवसलाई विशेष महत्वका साथ मनाउन लागिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस वर्षको नाराले राष्ट्रिय अभियानमा सबैको साझा जिम्मेवारी र जनसहभागिताको आवश्यकता औंल्याएको छ।

क्षयरोगलाई प्रमुख जनस्वास्थ्य समस्याका रूपमा लिएर यसको पहिचान, उपचार र नियन्त्रणमा जोड दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगी भेटिएका छन्। हाल देशभर ६ हजार २ सय ४१ स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध छ भने ७ सय ८५ स्थानमा माइक्रोस्कोपी र १ सय ४२ स्थानमा द्रुत परीक्षण सेवा निःशुल्क प्रदान गरिँदै आएको छ।

औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। साथै १ सय ४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरी सक्रिय रूपमा कार्यान्वयन भइरहेको छ।

विशेषज्ञहरूका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, तौल अचानक घट्नु, अत्यधिक पसिना आउनु र थकान महसुस हुनु जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ।

कमजोर रोगप्रतिरोधात्मक क्षमता भएका व्यक्ति, धुमपान, मद्यपान वा लागुऔषध सेवन गर्नेहरूमा क्षयरोगको जोखिम बढी हुने बताइएको छ। साथै औषधिको पूरा मात्रा सेवन नगर्दा रोग पुनः सक्रिय हुन सक्ने भएकाले नियमित उपचार अत्यावश्यक रहेको मन्त्रालयले जनाएको छ।

समयमै उपचार र पर्याप्त सावधानी अपनाएमा क्षयरोग निको हुने रोग भएकाले यसको रोकथामका लागि जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा समुदायस्तरका कार्यक्रमलाई प्रभावकारी बनाउँदै दिवस मनाउन मन्त्रालयले सबैलाई आह्वान गरेको छ।