

रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न तैनाथ नेपाली सेनाले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ। जिल्लामा खटिएको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती तथा निगरानी बढाएको छ। जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिम नियन्त्रणमा लिन सक्रियता बढाइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको सेनाले जनाएको छ।
मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइएको छ। श्री नारायणदल गण रौतहटका सबै १७ वटै स्थानीय तहमा तैनाथ रहेको छ।
यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको जनाइएको छ।