सर्लाही-४ मा गगन थापाको चुनावी खाका: शिक्षा, स्वास्थ्यदेखि बाढी नियन्त्रणसम्म ९ अभियान घोषणा

सर्लाही-४ मा गगन थापाको चुनावी खाका: शिक्षा, स्वास्थ्यदेखि बाढी नियन्त्रणसम्म ९ अभियान घोषणा

सर्लाही । प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला नेपाली कांग्रेस सभापति गगनकुमार थापा ले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो स्थानीय केन्द्रित चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक भएको पाँच दिनपछि उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै विस्तृत योजना अघि सारेका हुन्।

मधेसका मुद्दा राष्ट्रिय प्राथमिकतामा

थापाले मधेस लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधार भूमि भएको उल्लेख गर्दै यहाँका समस्या समाधानलाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। हुलाकी राजमार्ग संवादका क्रममा गाउँबस्ती पुगेका बेला उनले अलपत्र पुल, डुबान, कमजोर सडक र आधारभूत सेवाको अभाव प्रत्यक्ष देखेको बताए।

९ अभियानमा समेटिएको विकास योजना

 “कापी कलम अभियान”

-गणित, विज्ञान र अंग्रेजी शिक्षक व्यवस्था

-प्रविधिमैत्री विद्यालय

-विपन्न र दलित विद्यार्थीलाई छात्रवृत्ति

-मातृभाषामा शिक्षा

-प्राविधिक शिक्षा विस्तार

-छोरी शिक्षालाई प्रोत्साहन गर्न “सबल छोरी अभियान”

“स्वस्थ नागरिक अभियान”

-स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार

-प्रत्येक पालिकामा स्वास्थ्य प्रवर्द्धन केन्द्र

-सर्पदंश र कालाजारको निःशुल्क उपचार

-मोबाइल क्लिनिक सेवा

-कुपोषण न्यूनीकरण

-लागुऔषधविरुद्ध अभियान

-आधुनिक उपकरणसहित मधेस मिर्गौला उपचार केन्द्र

 “कृषि उत्थान, किसान गौरव अभियान”

-उखु बक्यौता भुक्तानी

-मल र बिउ सहज उपलब्धता

-शीत भण्डार निर्माण

-न्यूनतम समर्थन मूल्य

-सहुलियत कृषि ऋण

-आपतकालीन मल भण्डार र मधेसमा मल कारखाना पहल

बाढी नियन्त्रण र वातावरण संरक्षण

-बागमती नदी क्षेत्रमा तटबन्ध निर्माण

-मनुस्मरा नहर बाँध मर्मत

-अर्ली वार्निङ प्रणाली

-वृक्षारोपण र पानी संरक्षण

-चुरे संरक्षण अभियान

“मिसन रोजगारी अभियान”

-सीप विकास तालिम

-रोजगार सूचना केन्द्र

-युवा उद्यमशीलता

-वैदेशिक रोजगार सहजीकरण

-विदेशबाट फर्केकालाई उद्यममा जोड्ने कार्यक्रम

 सीमावर्ती विकास योजना

भारतसँग जोडिएको करिब ३० किमी सीमामा “दशगजा उज्यालो अभियान” सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ। यसअन्तर्गत हाईमास्ट सौर्य बत्ती, छोटी भन्सार व्यवस्थापन र सीमावर्ती गाउँका विशेष विकास कार्यक्रम समेटिएका छन्।

सामाजिक सशक्तीकरण

-महिलालाई सहुलियत कर्जा

-घरेलु हिंसा र बालविवाहविरुद्ध अभियान

-दलित समुदायका लागि शिक्षा–रोजगारी कार्यक्रम

-स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षण

“जनता दलान” कार्यालय

नागरिकका समस्या प्रत्यक्ष सुन्न क्षेत्रमै “जनता दलान” नामक सांसद कार्यालय स्थापना गर्ने घोषणा गर्दै थापाले सुशासन र समुन्नतिका लागि आफूलाई समर्थन गर्न मतदातासँग अपिल गरेका छन्। सर्लाही–४ मा थापाको घोषणापत्रले स्थानीय आवश्यकता केन्द्रित विकास मोडेल प्रस्तुत गरेको छ। अब मतदाताले यी योजनालाई कति विश्वास गर्छन् भन्ने कुराले नै चुनावी परिणामको दिशा तय गर्ने देखिन्छ।