

बुटवल। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो स्थानमा उक्लिएको छ। आयोगद्वारा सार्वजनिक नतिजाअनुसार बुटवलले ६४.४४ अंक प्राप्त गर्दै अन्य सबै उपमहानगरपालिकालाई पछि पार्दै देशकै उत्कृष्ट उपमहानगर बन्न सफल भएको हो।
स्थानीय तहको सुशासन, वित्तीय अनुशासन, शिक्षा, स्वास्थ्य, राजस्व परिचालन र सामाजिक सेवा क्षेत्रलाई आधार बनाएर गरिएको मूल्यांकनमा बुटवलको अग्रता अंकमा मात्र सीमित नभई व्यवहारिक विकासका कामबाट पनि पुष्टि भएको स्थानीयवासीको भनाइ छ।
मूल्यांकनअनुसार दाङका तुल्सीपुर र घोराही उपमहानगरपालिकाले क्रमशः ६१.५३ र ६१.०८ अंक प्राप्त गरेका छन्। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याउँदा इटहरी उपमहानगरपालिकाले सबैभन्दा कम ३८.९६ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले कार्यसम्पादन मापनका लागि १७ वटा सूचक प्रयोग गरेको थियो। समयमै बजेट सार्वजनिक तथा पारित गर्ने प्रक्रिया, राजस्व संकलन र प्रदेश सञ्चित कोषमा नियमित दाखिला, बजेट खर्चको पारदर्शिता, बेरुजु न्यूनीकरण तथा सूत्र सफ्टवेयरको प्रभावकारी प्रयोगजस्ता पक्षलाई विशेष प्राथमिकता दिइएको थियो।
यी सबै सूचकमा उल्लेखनीय सुधार गर्दै बुटवलले वित्तीय अनुशासनलाई संस्थागत गरेको आयोगको निष्कर्ष छ। विशेषगरी बजेट व्यवस्थापनमा समयपालन, राजस्व परिचालनको दायरा विस्तार र बेरुजु घटाउने प्रयासले बुटवललाई अग्रस्थानमा पुर्याएको देखिन्छ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो बुटवल’ अभियान शहरको मुहार फेर्ने महत्वपूर्ण परियोजनाका रूपमा स्थापित भएको छ। मुख्य सडकदेखि भित्री टोलसम्म स्मार्ट सडक बत्ती जडान गरिएपछि रातिको सुरक्षा अवस्था सुधारिएको छ भने व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
उज्यालो शहर अभियानले चोरी, दुर्घटना र असुरक्षाका घटनामा कमी ल्याउँदै बुटवललाई आधुनिक र सुरक्षित शहरका रूपमा चिनाउन सहयोग गरेको बताइन्छ।
बुटवलले सरसफाइलाई प्राथमिकतामा राख्दै नियमित अभियान सञ्चालन गर्दै आएको छ। ६७ औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी सरसफाइ कार्यक्रम सञ्चालन गरी बसपार्क, मुख्य सडक, नदी किनार र सार्वजनिक स्थल सफा गरिएको थियो।
नगरप्रमुख, कर्मचारी, विद्यार्थी, युवा क्लब र स्थानीयवासीको सहभागिताले ‘स्वच्छ बुटवल, स्वस्थ बुटवल’ अभियानलाई व्यवहारमा उतारेको थियो।
सडकमा अलपत्र परेका गाईबस्तुको संरक्षणका लागि गौशाला निर्माण गरेर बुटवल उपमहानगरपालिकाले सामाजिक उत्तरदायित्व पूरा गरेको छ। यसले सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै धार्मिक तथा मानवीय मूल्यको संरक्षणमा योगदान पुर्याएको स्थानीयवासीको भनाइ छ।
महिलालाई उत्पादनमूलक सीपसँग जोड्दै सिलाइकटाइ, अगरबत्ती निर्माण, खाद्य प्रशोधन र ढाका बुनाइजस्ता तालिम सञ्चालन गरिएको छ। तालिमपश्चात धेरै महिलाले घरेलु उद्योग सञ्चालन गर्दै आत्मनिर्भरता हासिल गर्न थालेका छन्। उपमहानगरपालिकाले उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्याउँदै आएको छ।
परम्परागत रूपमा पुरुषले मात्र बजाउने नौमती बाजामा महिलालाई तालिम दिइनु सामाजिक रूपान्तरणको अर्को उदाहरण बनेको छ। यसले महिला सहभागिता र सांस्कृतिक संरक्षण दुवैमा सकारात्मक प्रभाव पारेको बताइन्छ।
युवालाई स्वरोजगारमुखी बनाउन भिडियो ग्राफी, फोटोग्राफी, डिजिटल मिडिया, कम्प्युटर तथा ब्युटिसियन तालिम सञ्चालन गरिएको छ। तालिमपछि धेरै युवाले आफ्नै व्यवसाय सुरु गरेका छन् भने केहीले रोजगारीसमेत प्राप्त गरेका छन्।
विद्यालय भर्ना दर वृद्धि, कक्षा ९ मा टिकाउ दर सुधार, एसइई नतिजा उकास्ने कार्यक्रम तथा गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच र बालबालिकाको खोप अभियानलाई प्रभावकारी बनाइएको छ। यी सूचकमा भएको प्रगतिले पनि कार्यसम्पादन मूल्यांकनमा बुटवललाई अग्रस्थान दिलाएको आयोगको निष्कर्ष छ।
बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकाससँगै सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र सुशासनलाई समानान्तर रूपमा अघि बढाएको देखिन्छ। यही कारण नागरिकको विश्वास बढ्दै गएको स्थानीयवासी बताउँछन्।
उनीहरू भन्छन्, “बुटवल अब केवल व्यापारिक शहर होइन, योजनाबद्ध विकास भएको आधुनिक र सुरक्षित शहर बन्दै गएको छ।”