काठमाडौं । नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार प्रादेशिक रूपमा नवजात, शिशु र बाल मृत्युदर तीनै सूचकमा सुदूरपश्चिम प्रदेश अगाडि देखिएको हो।
सर्वेक्षणका अनुसार नेपालमा हरेक एक हजार जीवित जन्ममध्ये एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार ३१ रहेको छ भने एक महिनाभित्र १७ नवजात शिशुको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।
प्रादेशिक विवरणअनुसार नवजात शिशु मृत्युदर सुदूरपश्चिममा प्रतिहजार जीवित जन्ममा २६ पुगेको छ। यो दर बागमती प्रदेशमा सबैभन्दा कम १० रहेको छ। शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिहजार ३८ रहेको छ भने बागमतीमा १७ मात्र छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत सुदूरपश्चिममा उच्च रहँदै प्रतिहजार ४८ पुगेको छ। यस सूचकमा गण्डकी प्रदेशमा सबैभन्दा कम प्रतिहजार २० रहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार महिला तथा बालबालिकाको अवस्था अनुगमन, मूल्यांकन, योजना तर्जुमा तथा राष्ट्रिय र क्षेत्रीय तहमा तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको हो।
सर्वेक्षणका लागि देशभर ५४० गणना क्षेत्र (क्लष्टर) छनोट गरिएका थिए, जसमा ३०४ शहरी र २३६ ग्रामीण क्षेत्रका क्लष्टर समावेश छन्। प्रत्येक क्लष्टरबाट २४ परिवार छनोट गरी कुल १२ हजार ९६० परिवारबाट तथ्यांक संकलन गरिएको थियो।
दीगो विकास लक्ष्य (एसडीजी) अनुसार विश्वव्यापी रूपमा नवजात शिशु मृत्युदर प्रतिहजार १२ वा सोभन्दा कम र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार २५ वा सोभन्दा कममा झार्ने लक्ष्य लिइएको छ।
सर्वेक्षणअनुसार एक महिनाभित्रका नवजात शिशुको मृत्युदर शहरी क्षेत्रमा प्रतिहजार १६ र ग्रामीण क्षेत्रमा १९ रहेको छ। एक वर्षमुनिका शिशुको मृत्युदर शहरी क्षेत्रमा २६ र ग्रामीण क्षेत्रमा २७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर भने शहरी क्षेत्रमा ३१ र ग्रामीण क्षेत्रमा ३० रहेको छ।
लैङ्गिक आधारमा हेर्दा नवजात, शिशु तथा बाल मृत्युदर तीनै सूचकमा बालकको मृत्युदर बालिकाभन्दा बढी देखिएको छ। प्रतिहजार जीवित जन्ममा एक महिनाभित्र १८ बालक र १५ बालिकाको मृत्यु हुने गरेको छ। शिशु मृत्युदरमा बालक २७ र बालिका २६ रहेको छ भने पाँच वर्षमुनिको हकमा बालकको मृत्युदर प्रतिहजार ३१ र बालिकाको ३० रहेको छ।





