

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले पछिल्लो समय चुनावी अभियानलाई उल्लेखनीय रूपमा तीव्र बनाएका छन्। घरदैलो अभियानदेखि मेलापात र स्थानीय भेटघाटसम्म सक्रिय रूपमा सहभागी हुँदै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
चुनावी अभियानकै क्रममा नुवाकोट–१ अन्तर्गत शिवपुरी गाउँपालिका लगायत अन्य पालिकाका विभिन्न गाउँहरु पुगेका पूर्व अर्थमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता डा. महतले आफू कुरा भन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन्। उनले निर्वाचन नलड्दा समेत नुवाकोटमा थुप्रै विकास निर्माणका काम अघि बढाएको स्मरण गराउँदै आगामी दिनमा विकासलाई अझ गति दिई नुवाकोटलाई नमुना जिल्ला बनाउने आफ्नो लक्ष्य रहेको बताए।
शिवपुरी गाउँपालिकामा डा. महतलाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन्। स्थानीयवासीसँगको भेटघाटमा उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त अवसरमा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता गोविन्द थपलिया लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
चुनावी माहोल तातिँदै जाँदा डा. महतको सक्रिय अभियानले नुवाकोट–१ मा कांग्रेसको चुनावी गतिविधि थप सशक्त बन्दै गएको देखिएको छ।