दिलिप शाहको लघुकथा संग्रह ‘डाइपर भिसा’ पाठकमाझ

दिलिप शाहको लघुकथा संग्रह ‘डाइपर भिसा’ पाठकमाझ

काठमाडौं । कथाकार दिलिप शाहको नयाँ कृति लघुकथा संग्रह ‘डाइपर भिसा’ पाठकमाझ आएको छ । ५४ वटा लघुकथाहरु समेटिएकाे संग्रहलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । बढ्दो विदेश मोहले निम्त्याएका अनेकौं विकृतिहरूप्रति चोटिलो प्रहार यस लघुकथा संग्रहमा रहेको छ । नेतागिरीदेखि वर्तमान यथार्थहरूको सग्लो चित्रण सहज, सरल भाषाशैलीमा पस्किई पाठकहरूमा केन्द्रित हुने कथावस्तु नै ‘डाइपर भिसा’को विशेषता रहेको छ ।

अभाव, पीडा, बेथिति, भ्रष्टाचारजस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा प्रस्तुत गरी सम्मुन्नत राष्ट्रको कामना गर्नु यो संग्रहको अर्काे विशेषता हो । माया, प्रेम, अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा नराम्रा पक्षहरूलाई समान रूपमा यस संग्रहमा चित्रण गरिएकाे छ । नराम्रा कुराहरूलाई देखाई राम्रा पक्षहरूको कामना गर्नु र सम्मुन्नत समाज निर्माण नै यस कृतिको आशय रहेको छ ।

विकृति र विसङ्गतिको चिरफार गरी सम्मुन्नतिको चाहना प्रकट गरिएको यो कृतिका कथाकार शाहका मौनधारण (कथासङ्ग्रह, २०६४) जालो (लघुकथासङ्ग्रह, २०६६) श्रद्धासुमन (कथासङ्ग्रह, २०६८) मुर्दार काठमान्डु (कथासङ्ग्रह, २०६९) बघिनी (कथासङ्ग्रह, २०७०) चियर्स (कथासङ्ग्रह, २०७५) प्रकाशित कृतिहरू रहेका छन् ।