

काठमाडौं । मङ्गलबार बिहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्ततः सञ्चालनमा आएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाह पुल नजिक ग्यास बुलेट पल्टिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटमा रहेको करिब २१ टन ग्यास रातभर सुरक्षित रूपमा बाहिर फ्याँकेर ट्याङ्कर हटाइएको हो ।
दुर्घटनास्थलबाट ग्यास बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । ग्यास चुहावट र जोखिमका कारण राजमार्ग केही समय बन्द राखिएको थियो भने यस अवधिमा साना सवारीसाधनलाई चन्द्रनिगाहपुर–गौर वैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो ।
ग्यास बुलेट हटाइएपछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।