‘अनुशासन’का नाममा विद्यार्थीको कपाल मुण्डन गर्ने स्कुललाई महानगरको लगाम

‘अनुशासन’का नाममा विद्यार्थीको कपाल मुण्डन गर्ने स्कुललाई महानगरको लगाम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका विद्यालयहरूमा ‘अनुशासन’का नाममा विद्यार्थीको कपाल जथाभावी मुण्डन गरिदिने (काटिदिने) प्रवृत्तिमाथि कडा रोक लगाएको छ । कपाल लामो भएको भन्दै स्कुलमै जबर्जस्ती कपाल काटिदिँदा बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर परेको भन्दै महानगरले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

केही सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूले छात्रहरूको कपाल लामो भएको निहुँमा अभिभावकको अनुमति बेगर र विद्यार्थीको आत्मसम्मानमा चोट पुग्ने गरी विद्यालय हाताभित्रै कपाल मुण्डन गरिदिने गरेका गुनासाहरू बाहिर आएका थिए । यस्तो कार्यले किशोर विद्यार्थीहरूमा हिनताबोध सिर्जना हुने र त्यसले बालमनोविज्ञानमा गहिरो धक्का लाग्ने ठहर गर्दै महानगरको शिक्षा विभागले बुधबार सबै विद्यालयका नाममा विशेष परिपत्र जारी गरेको छ ।

महानगरका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा नियमावली, २०५९ को कानुनी व्यवस्थालाई स्मरण गराइएको छ । नियमावलीको नियम १३३ (१) (ट) ले विद्यार्थीलाई विद्यालयमा कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिन नहुने कुरा सुनिश्चित गरेको छ । साथै, नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाउन सक्ने भए पनि त्यसको कार्यान्वयन गर्दा विद्यार्थीको मानवीय मर्यादामा आँच आउन नहुने कुरामा महानगरले सचेत गराएको छ ।

महानगरले अनुशासन कायम गर्ने बहानामा विद्यार्थीलाई मानसिक तनाव दिने गतिविधि अब उप्रान्त स्वीकार्य नहुने स्पष्ट पारेको छ । विभागले जारी गरेको निर्देशनमा भनिएको छ, ‘कपाल लामो भएको भनी विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको जनगुनासो प्राप्त भएको छ, तसर्थ विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी मात्र आचारसंहिता पालना गर्न/गराउन हुन अनुरोध छ ।’

यो निर्देशनसँगै अब काठमाडौँका विद्यालयहरूले विद्यार्थीको कपाल जबरजस्ती काटिदिने वा मुण्डन गरिदिने जस्ता ‘कपाल पुलिसिङ’ गर्न पाउने छैनन् ।