

अमेरिका, टेक्सस । नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा विजय भुसाल भारी मतान्तरसहित निर्वाचित भएका छन् । भुसालले कुल २ हजार ३१८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी जनक भण्डारीलाई पराजित गरेका हुन् । जनक भण्डारीले १ हजार ३९१ मत प्राप्त गरेका थिए । दुवैबीच ९२७ मतको फराकिलो अन्तर देखिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार अध्यक्ष पदबाहेक अन्य पदहरूमा भने प्रतिस्पर्धात्मक मतदान भएको थियो । उपाध्यक्ष पदमा विजय भुसाल प्यानलका जीवलाल भुसाल १ हजार ७७८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी डा. चन्द्र भण्डारीले १ हजार ७५३ मत प्राप्त गरे ।
महिला उपाध्यक्ष पदमा जनक भण्डारी टिमबाट उम्मेदवार बनेकी राधिका खरेल २ हजार २९२ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी शान्ता गिरीले १ हजार ३१७ मत प्राप्त गरिन् ।
अर्का उपाध्यक्ष पदमा विजय टिमका दिलीप राई मात्र तीन मतको झिनो अन्तरले विजयी भए । दिलीपले १ हजार ७५७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुन्जन भण्डारीले १ हजार ७५४ मत पाए ।
महासचिव पदमा विजय भुसाल प्यानलका प्रवीण श्रेष्ठ १ हजार ९५१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी रामकृष्ण यादवले १ हजार ५८० मत प्राप्त गरे । सह–सचिव पदमा नारायणबहादुर केसी १ हजार ८८४ मतसहित विजयी भए भने सुशील बर्तौलाले १ हजार ६१६ मत पाए ।
कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य) १ हजार ७९१ मतसहित निर्वाचित हुँदा भोला मैनालीले १ हजार ६०६ मत प्राप्त गरे । सह–कोषाध्यक्ष पदमा कान्ति नेपाल २ हजार २१७ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी रिजिना लामाले १ हजार २७८ मत पाइन् ।
खेल संयोजक पदमा उजित अधिकारी १ हजार ६९५ मतसहित निर्वाचित भए भने मोहन अधिकारी (सञ्जय) ले १ हजार ६५१ मत प्राप्त गरे । महिला संयोजक पदमा सोनु थापा (सोञ्या) १ हजार ८८५ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी मेनु थापाले १ हजार ५२८ मत प्राप्त गरिन् ।
युवा तथा विद्यार्थी संयोजक पदमा आदर्श भण्डारी २ हजार २ मतका साथ निर्वाचित भए । सदस्य पदतर्फ अर्जुन बम (१,५३९), बाबुराम अर्याल (१,५१८), हेम भट्ट (१,४९५), प्रदीप पौडेल (१,५४०) र रेणु छेत्री (१,८४१) निर्वाचित भएका छन् ।
