‘असंवैधानिक सरकार’ विरोधमा सात दलको मधेस भवन अगाडि धर्ना जारी

‘असंवैधानिक सरकार’ विरोधमा सात दलको मधेस भवन अगाडि धर्ना जारी

काठमाडौं । मधेस प्रदेशमा सरकार गठनविरुद्ध सात राजनीतिक दलले आइतबार पनि आफ्नो आन्दोलन जारी राख्दै जनकपुरधामस्थित मधेस भवन अगाडि धर्ना दिएका छन्। उनीहरूले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठन गराएको दाबी गर्दै मुख्यमन्त्री बर्खास्तीको माग दोहोर्याएका छन्।

आन्दोलनमा सहभागी दलका नेताहरूले तत्कालीन प्रदेश प्रमुखको कदम संविधानविपरीत रहेको जिकिर गरेका छन्। माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले आफ्नो विरोध असंवैधानिक निर्णयविरुद्ध रहेको स्पष्ट पार्दै, मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मधेसी जनताको हितमा फैसला गर्ने आशा व्यक्त गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्चको निर्णयलाई सम्मान गर्ने बताए। सर्वोच्चको आदेशपछि सात दलिय गठबन्धन बसेर आगामी आन्दोलनको रुपरेखा तय गरिने उनको भनाइ छ।

आन्दोलनमा सहभागी सात दलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) तथा नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतबार उनीहरू राष्ट्रिय झण्डा सहित धर्नामा बसेका थिए।