मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न डा. सीके राउतकाे आह्वान

मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न डा. सीके राउतकाे आह्वान

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशसभाबाटै प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्। मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विवाद चलिरहेका बेला उनले यो प्रस्ताव सार्वजनिक गरेका हुन्।

सोमबार बिहान सामाजिक संजालमार्फत् वक्तव्य दिँदै राउतले भने, “मधेस प्रदेशसभाबाटै मधेस प्रदेशको स्वायत्तता घोषणा गरौं — आफ्नै प्रदेश पुलिस र प्रशासन सहितको सरकारले शासन गरौं।” उनले थपे, “हामीले दरले र डराएर सदियौँ नेपाली शासकको अधीनतामा बाँचेका छौँ; अब खुल्लमखुल्ला बोल्ने समय आएको छ।”

राउतको यो आह्वानले पहिले उठेका क्षेत्रीय माग र सत्ता–सम्बन्धी विवादहरूलाई नयाँ उग्रता दिन सक्छ भनि विश्लेषकहरूले आँकलन गर्ने सम्भावना छ। मधेस प्रदेशमा राजनीतिक तहहरूबीच जारी तनाव, नयाँ मुख्यमन्त्रीको नियुक्ति र त्यसप्रति देखिएका प्रतिक्रिया बीच यो प्रस्तावले थप राजनीतिक चर्चा र प्रतिक्रियाहरू उत्पन्न गर्ने देखिन्छ।

यस्तो छ  वक्तव्य:

मधेस प्रदेशसभाको बैठकबाट मधेस प्रदेशको स्वायत्तता घोषणा गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ। डराएर सदियौँ नेपाली शासकको गुलामी गर्‍यौँ, अब खुलेर बोलौँ। 

संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने, मधेस पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साँध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेस प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि मधेस प्रदेशलाई स्वायत्त घोषणा गरौँ। अहिलेको संघीय सरकार नै कुन संविधानअनुसार बनेको छ र? आन्दोलनको मागबमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेसी जनताको चाहनाबमोजिम मधेस प्रदेशसभाको दुईतिहाइको सभासदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ।

५४ प्रतिशत जनसंख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भिखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने।

मधेस हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेसलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैँ गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरुरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।