

तम्घास । १२ बर्ष पहिले निर्माण सुरु भएको गुल्मीस्थित रेसुङ्गा विमानस्थलबाट हिउँददेखि नियमित उडान भर्ने तयारी भइरहेको छ । रेसुङ्गा विमानस्थलमा गत वैशाख ३१ गते परीक्षण उडान गरिएको थियो । रेसुङ्गा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थीका अनुसार यतिखेर पहिलो स्तरको ग्राभेल सम्पन भएको छ ।
रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि २ सय ५ किलोमिटरको हवाइ उडान यात्रामार्फत करिब ४० मिनेटभित्रमा काठमाडौँ पुगिने बताइएको छ । विमानस्थल निर्माणमा स्थानीयलाई मुआब्जासहित करिब १२ करोड खर्च भइसकेको पन्थीले बताउनुभयो । कूल ७६ रोपनी ६ आना जग्गामा रहेको विमानस्थलको रनवे, तारबार आदिको काम अन्तिम चरणमा पुगेको र हिउँदबाट नियमित उडान भर्ने तयारी भइरहेको बताइएको छ ।
यस विमानस्थलमा नियमित सेवा सुरु भएपछि छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, पाल्पा, वाग्लुङ, पर्वत लगायतका नागरिक लाभान्वित हुने छन् । यो विमानस्थल जिल्ला सदरमुकाम तम्घासबाट सात किलोमिटरको दूरीमा रहेकाे छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ साल असार २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री छँदा विमानस्थलकाे शिलान्यास गर्नुभएकाे थियाे । विमानस्थल निर्माणको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ ।