इलाममा अविरल वर्षापछि पहिरो – १८ जनाको मृत्यु, उद्धार कार्य जारी

इलाममा अविरल वर्षापछि पहिरो – १८ जनाको मृत्यु, उद्धार कार्य जारी

विराटनगर । अविरल वर्षापछि इलाममा खसेको पहिरोले ठूलो जनधन क्षति पुर्‍याएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ भने अझै केही बेपत्ता छन्।

इलामका विभिन्न स्थानमा हिजो रातिदेखि पहिरो खसेको छ। सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ भने माङ्सेबुङ गाउँपालिका–१ पाटी गाउँमा ३ जनाको ज्यान गएको छ। देउमाई नगरपालिका–५ ढोरेमा १ र धुस्नेमा २ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका रातमाटेमा १ र इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको छ।

माङ्सेबुङ गाउँपालिका–१ मा एक गर्भवतीसहित दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ। तर लगातार वर्षा र खराब मौसमका कारण उद्धार कार्यमा समस्या भएको छ।

उद्धारका लागि हेलिकप्टर पठाइएको भए पनि खराब मौसमका कारण घटना स्थलमा हेलिकप्टर अवतरण गर्न सकिरहेको छैन। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार हेलिकप्टर याङ्शिला क्षेत्रमा अवतरण गरिएको छ।  उनले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरिन् ।