‘सरकारका काम प्रति सत्तापक्षमै चरम असन्तुष्टि छ मेरो के कुरा’ – कांग्रेस सांसद श्रेष्ठ

‘सरकारका काम प्रति सत्तापक्षमै चरम असन्तुष्टि छ मेरो के कुरा’ – कांग्रेस सांसद श्रेष्ठ

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्पष्ट र हक्की स्वभावका हुनुहुन्छ । तीन दशक लामो शिक्षा क्षेत्रको अनुभव बटुल्नुभएका श्रेष्ठले संविधानसभाको सदस्य समेत रहेर संविधान लेखनमा महत्वपूर्ण भूमिका निभाउनु भयो । कसैको पनि कटु आलोचना नगर्ने उहाँको स्वभाव छ । निरन्तर मेहनत र परिश्रमले सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण बन्नु भएका श्रेष्ठको धेरैले मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछन् । मुलुकको विकासकालागि शिक्षा नै एक नम्बर प्राथमिकतामा रहनुपर्छ भनेर सधै लबिङमा लागिरहने कांग्रेस नेता एवम् शिक्षाविद् श्रेष्ठसंग बजेट, शिक्षा र समसामयीक राजनीतिका विषयमा राष्ट्रवाणी डट कमले गरेको कुराकानीको सम्पादित अंशः–

–झण्डै दुई साता लामो यूरोप भ्रमण सकेर आउनुभयो, के थियो भ्रमणको खास ध्येय ?
यूरोप भ्रमण अहिले मात्र गएको होइन । अघिल्ला वर्षहरु पनि गइरहन्थेँ । म गाउँमा जन्मिएँ, पढाई पनि सार्वजनिक विद्यालयमै भयो । सानैदेखि मेरो सोचाईं भनेको हेर्नुपर्छ, देख्नुपर्छ, एक्सपोजर हुनुपर्छ, त्यसले धेरै कुरा सिकिन्छ भन्ने थियो । मैले स्कूल खोल्नु शुरु गर्नु पूर्व पनि ५० वटा देश घुमिसकेको थिएँ । त्यसैले पनि अरु स्कूल र लिटिल एन्जल स्कूलमा फरक छ । मैले आधुनिक स्कूल कस्तो हुनुपर्छ भन्ने पनि देखाउन खोजेको छु । संस्था बनाउने तरिका, चिन्तन मैले विदेश भ्रमणमा जे देखेँ त्यसैबाट सिकेको हुँ । शिक्षा, स्वास्थ्य, उर्जा, पर्यटन, कृषि, उद्योग क्षेत्रको धेरै अनुभव मैले विदेशबाट लिएको छु । अहिलेसम्म करिब ७५ वटा देश घुमिसकेको छु । तर, पछिल्लो समय मेरो विदेश घुमाई असाध्यै कम भएको छ । म वर्षमा १/२ महिना विदेशमै हुन्थेँ । त्यहाँ गएर त्यहाँको नयाँ प्रविधि, नयाँ चिन्तन पढ्ने हेर्ने गर्थेँ । यस पटक म रोटरी क्लबको पास्ट प्रेसिडेन्टको नाताले इन्टरनेशनल कन्भेन्सनमा भाग लिन जर्मनी गएको हुँ । मैले प्रत्येक वर्ष रोटरीको इन्टरनेशनल कन्भेन्सन छुटाएको छैन । जहाँ धेरै देशको सहभागिता रहने हुनाले धेरै अनुभवी व्यक्तिहरुसंग भेट हुने गर्दछ ।

राष्ट्रवाणी डटकमसंग कुरा गर्दै कांग्रेस सांसद एवम् शिक्षाविद् उमेश श्रेष्ठ

–विदेश भ्रमणको यतिधेरै अनुभव छ, त्यहाँको विकास देख्नुभएको छ, नेपालमा पनि विकास र समृद्धिको नारा खुब लगाइएको छ, के रहेछ खासमा विकास र समृद्धिको बाटो ?
नेपाल सुनको अण्डा हो । तर, हाम्रा राजनीतिक दलका नेताहरु र काम गर्ने कर्मचारीहरुको सोंच अनि गराईले यति सुन्दर देशलाई खियाँ लागेको फलामको डल्ला बनेको छ । नेपाल जस्तो सम्भावना भएको मुलुक कही कतै छैन । नेपाल साच्चै नै प्रकृतीले बरदान दिएको मुलुक हो । अर्को गौतम बुद्ध जन्मिएको देश हो नेपाल । त्यतिमात्र होइन सगरमाथा भएको देश पनि नेपाल हो । विविधताले भरिपूर्ण देश हो नेपाल । हिमाल, पहाड, तराई, मधेश भएको हावापानी एक घण्टामै परिवर्तन हुने देश हो नेपाल । यति धेरै अथाह बरदान पाएको मुलुकमा सोंच परिवर्तन हुन सकेन । कुनै राम्रा योजना बनाउन सकिएन । विकासकालागि लगानी भित्र्याउन सकिएन । अहिले एक्काइसौ शताब्दी ग्लोबल भिलेज भइसक्यो । संसारभर खुल्ला आकाश छ, मान्छेले जति उड्न चाह्यो उड्न सक्छ । तर, बिडम्बना संसारभरका लगानीकर्ता नेपाल ल्याउन सकेनौ । हामी एक्लैले सबै एक्लै गर्न सक्दैनौँ । हामीसंग पूँजिको अभाव छ । प्राकृतिक स्रोतको कुरा गर्दा हाइड्रोमा प्रचुर सम्भावना छ । अहिले वर्षमा २ खर्ब भन्दा बढीको डिजेल र पेट्रोल आयात गर्छौ तर ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिनेमा हामीले २ हजार मेगावाट पनि उत्पादन गर्न सकेका छैनौँ । आजभन्दा १० वर्ष अघि २० हजार मेगावाट बिजुली उत्पादन गर्न सकेको भए के हुन्थ्यो ? मान्छेहरु भन्छन् बजार छैन भनेर जुन सत्य होइन । मान्छेले यति परिकल्पना गरेको थिएन की धनकुटाको सिदुवाको तरकारी भारतको दिल्लीसम्म पुग्छ भन्ने । त्यसैले हामीले उत्पादन गर्नुपर्छ, बजार भनेको तानेर लैजाने चिज हो । यो कुरा सबैलाई बुझाउन सकिएन । मैले बारम्बार भन्ने गर्दछु, देश धनि बनाउने हाइड्रोपावर हो । अर्को पर्यटन हो । विदेशबाट आउने पर्यटकहरु नेपालको प्रकृती देखेर रुन्छन् । हामीले भने देश बनाउन जानेनौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमालको फेदबाट ‘पाथ वे’ बनाउन सक्नुपर्छ । प्रत्येक आधा घण्टाको बाटोमा सुविधायुक्त गच्क्षअनुसार खान बस्न सक्ने व्यवस्था बनाउन सक्नुपर्छ । पर्यटनलाई प्राथमिकतामा राखेर पूर्वाधारहरु बनाउन जरुरी छ । संसारभरीको मान्छेहरुले पूर्वाधारलाई प्राथमिकतामा राख्दछ । काठमाडौंलाई हेरौ न एयरपोर्ट भनेको छ पूर्वाधार छैन । फाइभ स्टार होटल हेरौ त्यहाँ पनि पूर्वाधार छैन । एक पटक आइसकेको मान्छेले अव्यवस्थित, भद्रगोल देख्छ अनि यति सुन्दर देशलाई हेर्ने दृष्टिकोणनै फरक बनाएर जान्छ । त्यसैले विकास र समृद्धि गफ गरेर आउदैन । दीर्घकालिन योजना बनाएर पूर्वाधारको विकास गर्नु पर्यो । त्यो हुन सकेन ।

म जस्तो गाउँबाट खाली खुट्टा आएको एउटा व्यक्तिले ४० वर्षको समयमा यतिधेरै परिवर्तन ल्याउन सक्छ । शिक्षा क्षेत्रमा जसले जेसुकै भने पनि राज्यको एक पैसा नलिएर अहिलेको परिवर्तन ल्याउने हामी हो । हामीले जनताले चाहेको गुणस्तरीय शिक्षा दिएका छौं । साच्चै भन्नुपर्दा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिएका छौं ।

– अब बजेटको चर्चा गरौं, अस्ति संसदमा बजेटकोबारेमा निकै तर्कपूर्णढंगले बोल्नुभयो, दुई तिहाईको शक्तिशाली सरकारले ल्याएको बजेटमाथी तपाईंको आलोचना, साच्चै चित्तै नबुझेर हो की, संसदको प्रमुख प्रतिपक्षीदलको धर्म निर्वाह गर्नु भएको हो ?
म जस्तो गाउँबाट खाली खुट्टा आएको एउटा व्यक्तिले ४० वर्षको समयमा यतिधेरै परिवर्तन ल्याउन सक्छ । शिक्षा क्षेत्रमा जसले जेसुकै भने पनि राज्यको एक पैसा नलिएर अहिलेको परिवर्तन ल्याउने हामी हो । हामीले जनताले चाहेको गुणस्तरीय शिक्षा दिएका छौं । साच्चै भन्नुपर्दा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिएका छौं । तर, अहिले सरकारले काम गर्नै दिएन । अहिले यहाँ केही हुदैन भनेर फस्ट्रेड भएर वर्षमा एक डेढ लाख मान्छे विदेश पढ्न जान्छन् । त्यसले हाम्रो पूँजि, ब्रेन सबै विदेशीयो । हाम्रो पूर्वाधारको पूर्वाधार मैले शिक्षा भनेको छु तर त्यसमा हामीले कामै गर्न सकिएन । मैले सकारात्मक ध्येयले आलोचना गरेको हो । हामी आफै पनि गर्न नसक्ने ऋण पनि नलिने ।

म दावाका साथ भन्छु मैले लगानी पनि गरेको छु, ऋण पनि बोकेको छु र योग्य मान्छे उत्पादन पनि गरेको छु । जस्तो उदाहरणकोलागि हामीले पूँजिगत खर्च एक चौथाई पनि गर्दैनौ । अहिले जम्माजम्मी ५५ प्रतिशत पूँजिगत खर्च भएको छ अनि यो देश विकाश हुन्छ ? अनि पूर्वाधार बन्छ ? विकासमा छलाङ मार्न सकिन्छ ? यो शैलीले जुनकुरा सम्भवै छैन । जबसम्म पूर्वाधार बन्दैन, उद्योग व्यवसाय गर्ने वातावरण बन्दैन । उद्योग व्यवसायीले पनि कमाउन र त्यो पैसा घुमाएर परिचालन गर्न सकुन भन्ने सोंच हुनुपर्छ । मैले कुनै पनि दल, व्यक्ति, समूहलाई आरोप लगाउनु छैन । समृद्ध बन्न सक्ने मुलुकलाई पनि हामीले समृद्ध बनाउन सकेनौं । हामी चंगुलमा फसेका छौं । नहुने नहुने कल्पना गछौं । हुने चिजमा फोकस हुनु पर्यो । अहिलेको सरकारले पानी जहाज, रेल अनि के के भनेको छ जुन तुरुन्त हुन सक्दैन । भएका रोडलाई बनाउनु पर्यो, इकोनोमी जोन बनाउनु पर्यो । उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्यो । तर त्यस्तो वातावरण बनाउनेतर्फ बजेट उन्मुख छैन । त्यसैले मैले सकारात्मक आलोचना संसदमा गरेको हुँ ।

राष्ट्रवाणी डटकमसंग कुरा गर्दै कांग्रेस सांसद एवम् शिक्षाविद् उमेश श्रेष्ठ

–शिक्षा क्षेत्रमा छुट्टाएको बजेट कस्तो लाग्यो ?
अहिलेको बजेटले एक नम्बर प्राथमिकता शिक्षालाई दिएको छ । १० दशमलब ६५ प्रतिशत शिक्षामा बजेट छ । तर, राज्यले मात्र गर्छु भनेर सक्दैन । राज्यको मात्र मुख ताकेर पनि हुदैन । यतिखेर दुई वटा बाटोबाट अघि बढ्न जरुरी छ । पहिलो सामूदायीक शिक्षामा सुधार गर्नुपर्यो । जसकालागि दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्यो । धेरै विद्यालय भएर मात्र भएन पूर्वाधार हुनु पर्यो । विद्यालयहरु मर्ज गरेर बिग स्कूलको कन्सेप्टमा जानु पर्यो । राजनेताहरु बसेर शिक्षालाई कुन धारमा लाने, कति लगानी गर्ने भनि सोच बनाउन जरुरी छ । शिक्षामा आज गरेको लगानीको प्रतिफल प्राप्त गर्न २०/३० वर्षपछि मात्रै सम्भव छ । विगतको तुलनामा यसपटक राज्यले शिक्षा क्षेत्रमा केही बढि प्राथमिकताका साथ बजेट अर्थात् १ खर्ब ६३ अर्ब विनियोजन गरेपनि त्यो पर्याप्त छैन । शिक्षा क्षेत्रको लगानीे दीर्घकालिन लगानी हो । यस क्षेत्रमा गरिएको लगानीले मानव संशाधन विकास र दक्ष नागरिक उत्पादन गरी देशलाई नै धनी बनाउने प्रमुख थलो भएपनि राज्यको बजेट विनियोजन पर्याप्त छैन । व्यवसायिक शिक्षाभित्र पनि सफ्ट स्कील र हार्ड स्कील बनाउनु पर्छ, ता कि माध्यमिक शिक्षा लगत्तै पनि आफ्नो ज्ञानको उपयोग गर्न सकोस् । अहिले सार्वजनिक शिक्षण क्षेत्रको अवस्था विकराल रहेको छ । २९ हजार सार्वजनिक विद्यालयहरु छन् । जसमध्ये ६३ हजार शिक्षक छैनन्, दरबन्दीे २५ हजार खाली छ, पढाउने शिक्षकदेखि प्रधानाध्यापक गतिलो छैनन् । संस्था चलाउन व्यवस्थापन, लिडर र टिचर राम्रो हुन जरुरी छ । अहिले २१ प्रतिशतमात्रै निजी संस्था रहेको अवस्थामा ७९ प्रतिशत सामुदायिक विद्यायलय रहेका छन् । राज्यले सामुदायिक विद्यालयको क्षेत्रमा उचित ध्यान दिन स्तरोन्नती गर्न जरुरी छ । कतिपय शहरी क्षेत्रमा भौतिक पूर्वाधार भएपनि विद्यार्थी नभएको अवस्था छ । जहाँ विद्यार्थी छन् त्यहाँ शिक्षक छैनन् । यस्तो स्थितिमा शहरी क्षेत्रमा बिग स्कूलको अवधारणामा जान जरुरी छ । यसैगरी जहाँ विद्यार्थीको चाप कम छ त्यस्ता हिमाली र दुर्गम क्षेत्रमा मल्टिग्रेडेड आवासीय विद्यालय स्थापना गरी जान उपयुक्त हुन्छ । सार्वजनिक क्षेत्र राम्रो भएको अवस्थामा निजी क्षेत्र स्वतः हराएर जान्छ । अहिले पनि अभिभावकको चाहना भनेको एक छाक खाएर भएपनि राम्रो स्कूलमा आफ्ना बालबालिकालाई पढाउँछु भन्ने छ । यस्तो भावना सरकारले बुझ्न जरुरी छ ।

उच्च शिक्षामा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नु आवश्यक छ । प्रदेशहरुलाई व्यवसायिक विश्वविद्यालयहरु खोल्न दिनुपर्छ । यदि यसरी अघि बढ्यो भने नेपाल उच्चशिक्षाको हब हुन सक्छ ।
निजी क्षेत्रलाई उच्चशिक्षामा प्रवेश गर्नै दिनु हुँदैन र विश्वविद्यालयहरु खोल्नै दिनुहुँदैन भन्ने मानसिकताले शिक्षा क्षेत्र प्रभावकारी हुन सक्दैन ।

विकासमा प्रदेश प्रदेशबीच, एक नगरपालिका अर्को नगरपालिका, एक गाँउपालिका अर्को गाँउपालिका प्रतिस्पर्धा गराउनुपर्ने हो तर त्यो हुन सकेन । तिमिलाई म पूर्ण स्वायत्तता दिन्छु, नीति नियमका समस्याहरु पनि समाधान गरिदिन्छु तिम्रो क्षेत्रको आर्थिक विकास तिमि गर भनेर संघिय सरकारले भन्नुपर्ने हो नि, तर त्यो हुन सकेन । माथिको मूलिले जति अधिकार कन्ट्रोलमा लियो त्यति ध्वस्त हुन्छ । माथीको अधिकार सबै स्थानीय र प्रदेश सरकारलाई दिनु पर्यो ।

–अहिलेको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धिले त एक किसिमको उत्साह देखिएको छ, यो त सकारात्मक होला नि ?
दुई तिहाईको शक्तिशाली सरकार भनेपछि त हरेक क्षेत्रमा उत्साह हुनुपर्ने, छलाङनै मार्नु पर्ने होनि । लगानीकर्ताहरु उत्साहित हुनुपर्ने, बाटो, होटल, बिजुली हरेक पूर्वाधार बन्नुपर्ने होनी । तर खोई ? केही हुनसक्ने स्थिति देखिएन । तलब, सामाजिक सुरक्षा भत्ता बढाउनुपर्छ म यसको विरोधी होइन । तर, राज्य धनि नहुने तर बाढेर मात्र सकिदैन । साधन स्रोतको उपलब्धता नहेर्ने तर खाली बाढ्ने बाढ्ने भनेर त यसले विकृति निम्त्याउछ । घाटी हेरेर हाड निल्नुपर्यो । अहिले आर्थीक क्षेत्र चलायमान छैन । जहाँ पनि हडल्सहरु सिर्जना गरिदिने अनि घुस खाने ठाँउ बनाउने काम भइराखेको छ । यसरी हुदैन । जे चिज पनि सहज बनाइदिनु पर्यो । पैसा पनि बैंकमा सहज बनाइदिनुपर्यो । सहज किसिमले लगानी गर्ने वातावरण बनाइदिनु पर्यो । जहाँ पनि रोकेर बाधैबाधा सिर्जना गरिदिएपछि आर्थिक समृद्धि कसरी आउछ ।

–सुखि नेपाली, समृद्ध नेपालको नारा जति आकर्षकरुपमा सुनिन्छ नाराअनुसार काम हुने वातावरण देख्नुहुन्न त्यसो भए ?
म धेरै आशावादी छु । नेपालमा सम्भावनै सम्भावना छ । दश वर्षमा अहिलेभन्दा दश गुणा विकास हामीले गर्न सक्छौं । त्यसकोलागि सोंचमा परिवर्तन हुनुपर्यो । नीतिमा परिवर्तन हुनुपर्यो । हामी संघियतामा जाँदा पनि केन्द्रिकृत सोंच परिवर्तन भएन । विकासमा प्रदेश प्रदेशबीच, एक नगरपालिका अर्को नगरपालिका, एक गाँउपालिका अर्को गाँउपालिका प्रतिस्पर्धा गराउनुपर्ने हो तर त्यो हुन सकेन । तिमिलाई म पूर्ण स्वायत्तता दिन्छु, नीति नियमका समस्याहरु पनि समाधान गरिदिन्छु तिम्रो क्षेत्रको आर्थिक विकास तिमि गर भनेर संघिय सरकारले भन्नुपर्ने हो नि, तर त्यो हुन सकेन । माथिको मूलिले जति अधिकार कन्ट्रोलमा लियो त्यति ध्वस्त हुन्छ । माथीको अधिकार सबै स्थानीय र प्रदेश सरकारलाई दिनु पर्यो । कर्णाली र सूदूरपश्चिम प्रदेश जस्ता विकासमा पछि परेका प्रदेशमा जसले उद्योग खोल्छ, जसले लगानी गर्न चाहान्छ तीनिहरुलाई १० वर्षसम्म आयकर मिनाह, जग्गा, बिजुली, पानी उपलब्ध गराउने वातावरण भए पो समृद्धि आउँछ । पैसालाई चलायमान बनाउन जरुरी छ । लगानीकर्तालाई भय, त्रासको वातावरण हुनु भएन । पैसा लगानी गर्दा पनि कुन बेलामा फसिने हो भन्ने डर छ, अनि कसरी समृद्ध नेपाल बन्छ ? अहिलेको अवस्थामा जुनसुकै सरकारी कर्मचारीले उद्योगी व्यवसायीलाई जुनसुकै बेला फसाउन सक्छ । त्यसकारण यो वातावरण अन्त्य गरेर केही राम्रो काम गर्छु भन्नेलाई उत्साहको वातावरण सरकारले तयार गर्न जरुरी छ । यसो भयो भने मात्र दश वर्षपछि आजभन्दा दश गुणा बढी विकास हुन्छ र बल्ल समृद्धि आउछ । अहिलेको नाराले मात्र आउदैन ।

राष्ट्रवाणी डटकमसंग कुरा गर्दै कांग्रेस सांसद एवम् शिक्षाविद् उमेश श्रेष्ठ

–अहिलेको व्यवस्थानै नरहने होकी भन्ने आशंका कतिपयले गर्न थालेका छन्, तपाईं त संविधान बनाउने संविधानसभामा पनि हुनुहुन्थ्यो, संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
अहिलेको अवस्थामा सत्तापक्षका अधिकांश सांसदहरुनै असन्तुष्ट छन् । सरकारले जुन कानुन बनाउछ सत्तापक्षमै त्यसको कडा विरोधमा छन् । कतिपय बाहिर बोल्न सकेका छैनन्, भित्रभित्र चरम असन्तुष्टि छ । परिवर्तनलाई संस्थागत गर्न जस्ताखालका नियम कानुन आउनुपर्ने हो त्यस्ता आएनन् । त्यो हामीलाई पनि महशुस भएको छ । गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, भुमि सम्बन्धी विधेयक, मानवअधिकार, लोकसेवाका कुराहरुमा हाम्रो भन्दा सत्तापक्षमै चर्को विरोध सुनिन्छ । जे जति आए सरसल्लाह र समझदारीबाट आएनन् जनताको चाहाना खोस्ने गरी आए । राम्रो कुरा आयो भने त सबैले स्वागत गरिहाल्छन् । संकिर्णसोंचले ल्याएका कुराहरुको चौतर्फी विरोध भएको छ । यस्ता कुराहरु सच्चाउनुपर्छ । नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ । संविधानमा सबैको अपनत्व हुनेखालको वातावरण बनाउन सक्नुपर्छ । तर, अहिले कोही पनि सन्तुष्ट छैनन् ।

राजनीतिमा लागेर मन्त्री बनुलाँ, ठूलो मान्छे हुँला भन्ने मेरो सोंच छैन । अब केही वर्ष म राजनीतिमानै सक्रिय रहन्छु । त्यसपछि भनेको सेवा नै हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उर्जा र विकासका क्षेत्रमा कसरी नमूनायोग्य काम गर्न सकिन्छ त्यसैमा म व्यस्त हुन्छु । मैले शिक्षामा पनि नमूना योग्य काम गरेर देखाएकै छु ।

–दुई पटक सांसद बनिसक्नुभयो, शिक्षा क्षेत्रमा लामो अनुभव छ, उर्जा, पर्यटन र कृषिमा पनि उल्लेख्य काम गरिराख्नु भएको छ, अब तपाईंको लक्ष्य के हो ?
मेरो लक्ष्य भनेकै सेवा हो । विशुद्ध समाजसेवा नै ध्येय हो । राजनीतिमा लागेर मन्त्री बनुलाँ, ठूलो मान्छे हुँला भन्ने मेरो सोंच छैन । अब केही वर्ष म राजनीतिमानै सक्रिय रहन्छु । त्यसपछि भनेको सेवा नै हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उर्जा र विकासका क्षेत्रमा कसरी नमूनायोग्य काम गर्न सकिन्छ त्यसैमा म व्यस्त हुन्छु । मैले शिक्षामा पनि नमूना योग्य काम गरेर देखाएकै छु । अस्वस्थ प्रतिस्पर्धा र तिकडमको राजनीति गरेर मलाई अघि बढ्नु छैन । सहजरुपमा हार्दिक वातावरण तयार भए मात्र जाने कुरा आउँछ । चितवनको मेरो क्षेत्रमा नेकपाका अध्यक्ष प्रचण्डजी संसदीय निर्वाचनमा लड्नु भयो अब प्रचण्ड जस्तो नेता लडेको ठाँउमा म उठ्दिन भनेर समानुपातिकमा गएँ । म कसैसंग पौठेजोरी खेल्नुपर्छ भन्ने पक्षमा छैन । राजनेताले नगरी विकास हुदैन । सोंचमा परिवर्तन, कानुनको राज्य नभई विकास सम्भव छैन । मसंग त अनुभव छ तर म जस्ता धेरै अनुभवीहरुको कुरा न पार्टीले सुन्छ न सरकारले सुन्छ । हामीलाई हेर्ने दृष्टिकोण कागको हुलमा बकुल्ला भने जस्तै भयो । यस्तो अवस्थामा परिवर्तन आउनु जरुरी छ । राम्रो कामको प्रशंसा हुने वातावरण तयार गर्न सबै पक्ष लाग्नु अहिलेको आवश्यकता हो ।