मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका ५ रहस्य अझै गर्भमै

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका ५ रहस्य अझै गर्भमै

काठमाडौं । पवित्र तीर्थस्थल कैलाश–मानसरोवर यात्राको सिजन औपचारिक रूपमा सुरू भएको छ। वैशाखदेखि असोजसम्मलाई उपयुक्त समय मानिने यो यात्राका लागि चीन सरकारको भिसा आवश्यक पर्छ, जुन नेपालस्थित चिनियाँ दूतावासबाट प्राप्त गर्न सकिन्छ। हाल ल्हासा, हिल्सा र रसुवागढी नाकाबाट यात्रा बढी हुने गरेको छ।

यस वर्ष कोभिडपछिको सहजतासँगै चीनले भारतीय भक्तजनका लागि हवाई र सडक यातायात पुनः सञ्चालनमा ल्याएको छ, जसले गर्दा यो वर्ष कैलाशमा भक्तजनको उल्लेख्य भीड हुने अनुमान छ। हिन्दू, बौद्ध, जैन र सिख धर्मावलम्बीहरू सबैका लागि पवित्र मानिने कैलाश क्षेत्र रहस्य र आध्यात्मिक गहिराइले भरिएको छ।

यहाँ कैलाश पर्वतसँग जोडिएका ५ रहस्यहरूको चर्चा गरिन्छ, जुन आजसम्म वैज्ञानिक दृष्टिले पनि सुल्झिएको छैन:

-अभेद्य कैलाश पर्वत
सगरमाथाभन्दा होचो भए पनि कैलाश हिमालमा हालसम्म कोही चढ्न सकेको छैन। आरोहणको प्रयास गर्नेहरू प्रारम्भिक उचाइमै असाध्यै शारीरिक असरको अनुभव गर्छन्। धार्मिक विश्वास अनुसार यो शिवको निवास भएकाले यसको शिखर स्पर्श गर्न सकिँदैन।

-मानसरोवर र राक्षस तालको विरोधाभास
एउटै उचाइमा रहे पनि मानसरोवर ताल मीठो र पवित्र मानिन्छ भने राक्षस ताल नुनिलो छ। दुबै तालको पानीको स्वाद, गुण र रंग फरक छन्, जसको कारण वैज्ञानिक रूपमा अझै पुष्टि भइसकेको छैन।

-समयको अनौठो गति
कैलाश क्षेत्रमा पुगेपछि घडीहरू छिटो चल्ने अनुभव भक्तजनले बताउने गरेका छन्। यहाँ समय तीव्र गतिमा अगाडि बढ्छ जस्तो लाग्छ, जसलाई ‘टाइम वार्प जोन’ भनेर चिनिन्छ।

-स्वस्तिक आकारको शिखर
कैलाश पर्वतको आकृति माथिबाट हेर्दा स्वस्तिक चिन्ह झैँ देखिन्छ, जुन हिन्दू धर्ममा शुभ मानिन्छ। यो अनौठो बनावट संसारका अरू कुनै पर्वतमा देखिंदैन।

-ऐनाजस्तो चिल्लो पर्खाल
कैलाशको दक्षिण भागमा देखिने चिल्लो र ठाडो पर्खालजस्तो संरचना ऐनाजस्तो चम्किलो देखिन्छ। यसको उत्पत्तिबारे अहिलेसम्म वैज्ञानिकहरूको कुनै ठोस निष्कर्ष छैन।

यी रहस्यहरूले कैलाश पर्वतलाई धार्मिक मात्र होइन, वैज्ञानिक कौतूहलको केन्द्रसमेत बनाएका छन्। यात्रुको उत्साह, आस्थासँगै यसको अनौठोता अझै बाँकी छ।