

– रमेश लम्साल
काठमाडौँ । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा हुनुहुन्थ्यो । प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उहाँकै नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’का रुपमा लिन्थे ।
हजुरबाको परिवार कृषिमा आधारित थियो । पाँच दाजुभाइमध्ये जेठा झाको व्यवस्थापन कला आफैँमा प्रसिद्ध थियो । कसैलाई भेदभाव नगर्ने, सबैसँग समान व्यवहार गर्ने, आर्थिकदेखि कूटनीतिकरूपमा पनि चातुर्य हजुरबाको स्वभाव अनि १०० जनाको परिवार व्यवस्थापन गर्ने हजुरआमाको खुबी साँच्चै अनुकरणीय थियो ।

आखिर के चीज रहेछ, सबैले मान्ने र पुज्ने ? मेरो बालमस्तिष्कले केही भेउ पाएको थिएन । रुपैठागाउँमा असाध्यै चोरी हुन्थ्यो । दक्षिणबाट आएका डाँकाले गाउँबस्ती सखापै हुने गरी लुटपाट गर्थे । त्यसबाट जोगिन सात¬–आठजना स्वयम्सेवक अघिपछि लगाएर हिँड्ने हजुर बा एकातिर, अर्कोतिर संयुक्त परिवारको व्यवस्थापन गर्ने अजुरआमाको कला के हो ? मेरो कलिलो मनले धेरै भेउ पाएको थिएन ।
त्यसमाथि तराईको ब्राह्मण समुदाय झा । जनकपुरमा त झा भनेपछि दिइने सम्मान पनि अजिबको नै छ प्रसिद्ध पण्डितको परिवार । हुने खाने पनि आउँथे, नहुने पनि आउँथे । कोही खाली हात फर्कंदैनथे । होइन, यो उल्का के होला भनेर मेरो मनमा बिझाइरहन्थ्यो तर त्यो एउटा व्यवस्थापनको ठूलो कला रहेछ । ठूलो परिवार मिलाउनेदेखि गाउँ नै मिलाउने कुरा फरक क्षमता भएकाले मात्रै सक्दा रहेछन् ।
हजुरआमा निरक्षर हुनुहुन्थ्यो तर रामायण महाभारत सबै पढ्न सक्ने । सबैले आदर गरेर ‘माई’ सम्बोधन गर्ने उनै हजुरआमा, सबैले पुज्ने र सम्मान दिने उनै हजुरबाका नाति विवेक यतिखेर देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्छ ।
नजीकै पाठशाला थियो । हालको जनकपुर कलेज नजीकै । राजनीतिका कुरा पनि हुन्थे, समाज सुधारको चर्चा पनि चल्यो । विवेकका हजुरबा त्यसका साक्षी हुनुहुन्थ्यो । पढे¬–लेखेको नभए पनि व्यवस्थापनको कुरा मैले उहाँबाटै सिकेको हो । कुनै समय कान्छा प्रमुख कार्यकारी अधिकृतको परिचय बनाएका विवेक विगतमा फर्कनुहुन्छ र त्यसलाई वर्तमानसँग जोड्नुहुन्छ ।

बुबा वीरगञ्जमा रहेको कृषि औजार कारखानाको महाप्रबन्धक भएर अवकाश पछिको जीवनमा हुनुहुन्छ । कालीकान्त झा वास्तविक नाम भए पनि साहित्यमा समेत जम्नुभएका उहाँलाई केहीले ‘तृषित’का नामले समेत चिन्छन् । तराई त्यसमाथि पनि जनकपुरमा बिहान, दिउँसो, साँझ र रातको समयमा गाउने फरकफरक खालका गीत छन् । यस्तै विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक कर्म गर्दा पनि त्यस्तै गीत गाइन्छ । ती सबै गीत जान्ने र लेख्ने क्षमता कालीकान्तमा थियो र छ । त्यस्तै जन्मकुण्डली बनाउने, राशि लेख्नेदेखि ज्योतिष कर्ममा समेत कहलाएका विवेकका बाबा पनि उस्तै परिचित व्यक्तित्व हुनुहुन्छ ।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण झालाई व्यवस्थापन क्षेत्रमा छिर्नु नै थियो । विगत सम्झँदै उहाँले भन्नुभयो, “१८ वर्ष भयो सिए पास गरेको मात्रै, नेपालको बैंकिङ क्षेत्रमा कुनै समयका स्थापित एवम् लोकप्रिय नाम रत्नराज बज्राचार्यले तातेताते गराएर हिँडाएको आजै जस्तो लाग्छ ।”
“सिए पास गरेर आएपछि आठ वर्ष जति आर बज्राचार्य एन्ड कम्पनीमा काम गरे, म फर्मको पार्टनर समेत भइसकेको थिए, जुन बेला नेपाल लाइफ इन्स्सुरेन्स कम्पनी दर्ता हुँदैथियो, त्यतिबेला मैले यही कम्पनीको कन्सल्ट्यान्ट अडिटरका रुपमा काम गरेको थिए, कुनै समय आफैले लेखापरीक्षण गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने मलाई लागेको थिएन”, उहाँले भन्नुभयो, “म यो कम्पनीमा आउँछु भन्ने त झन् छँदै थिएन ।”
हालको प्रभु (साबिक एलाइन्स), एलआइसी, युनिलिभर, नेपाल आयल निगम, उदयपुर सिमेन्ट तथा विभिन्न बैंकको समेत अडिट गरेको फेहरिस्त नै उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “एनबी इन्सुरेन्समा त १० महिना जागिर नै खाए, मेरो कर्पोरेट तर्फको यात्राको पहिलो खुड्किलो थियो माछापुच्छ्रे बैंक, दुई वर्ष जति सो बैंकका काम गरेँ ।”
विवेकले अझै पुराना दिन स्मरण गर्न थाल्नुभयो । “कृषि औजार कारखानाको महाप्रबन्धक बुबाको घुम्ने कुर्सीले पनि मलाई तान्थ्यो, म गएर बाबाको कुर्सीमा बसिदिन्थे, घुम्ने कुर्सी त्यसमाथि ‘टावेल’ राखेको कसरी पाइएला यो कुर्सीमा बस्न भनेर मेरो मनमा एक प्रकारको खुल्दुली चलिरहन्थ्यो”, उहाँले थप्नुभयो, “म खुर्रर दौडेर जान्थे र बसिहाल्थे, त्यो मेरो व्यवहार देखेर बुबा हाँस्नुहुन्थ्यो, त्यो मेरो कुर्सी मोह त थिएन नै तर कसरी पाइएला त यत्रो ठूलो कुर्सी ।”
हजुरबा, हजुरआमाको जस्तै पिताजीको पनि व्यवस्थापन कला असाध्यै अनुकरणीय रहेको झाको स्मरण छ । हाकिम साब आउनुभयो भन्दै कत्रो मानसम्मान थियो । साहित्यिक नाम तृषित जस्तै सबैका प्रिय पनि हुनुहुन्थ्यो बुबा । कार्यालय व्यवस्थापनको कौशल मैले पिताजीबाट सिकेको हो, विवेकले भन्दै जानुभयो ।
कमलादीस्थित नेपाल लाइफ इन्सुरेन्सको प्रधान कार्यालयमा हामी पुग्दा प्रमुख कार्यकारी अधिकृत झा कुनै व्यवस्थापनसम्बन्धी काममा व्यस्त हुनुहुन्थ्यो । केही समय हामीलाई कुराएर उहाँले आफ्नो वातनुकूलित कार्यकक्षमा बोलाउनुभयो । उहाँले भन्नुभयो, “कुनै समय लेखापरीक्षण गरेको कम्पनीको नै प्रमुख हुन्छु भन्ने त लागेको थिएन तर समयले मलाई यो स्थानमा ल्याइदियो ।”
विसं २०३० मा जन्मनुभएका झा आफूलाई अरूका लागि बाँच्ने एउटा सामान्य व्यक्तिका रुपमा चिनाउनुहुन्छ । जीवनलाई सरल बनाउन खोज्ने उहाँको विशेषता छ । माछापुच्छे्रेमा आन्तरिक अडिटरकै रुपमा रहँदै गर्दा नेपाल लाइफको तत्कालीन व्यवस्थापनले झाको योग्यता र क्षमता अनुमान लगाइसकेको थियो । त्यसमाथि आफ्नै कम्पनीको ‘अडिट’ गरेको व्यक्ति । मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थो । नेपाल लाइफको व्यवस्थापले झालाई सिनियर डिजिएम भएर आइदिन पटकपटक आग्रह ग¥यो ।
जसले प्रयास गर्छ, त्यो सफल हुन्छ, प्रयास नै नगर्नेले त सफलता र असफलताको स्वाद नै चाख्न पाउँदैन । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पूरा भयो । व्यावसायिकजगत्मा हेर्दा आठ वर्षको अवधि ठूलो हो तर झा सन्तुष्ट देखिनुहुन्छ ।
शुरुमा त केहीले बच्चा सिइओ भनेर पनि उडाए । संस्थागत हितका लागि खरो उत्रेको उहाँलाई लाग्छ । कम्पनी सफल हुँदै गएको र नेपालको नम्बर एक बीमा कम्पनी हो भनेर कसैले भनिदिँदा छाती फुलेर चौडा हुन्छ । झा त्यहाँ जाँदा रु ५३ करोडको व्यवसाय हुने गरेको नेपाल लाइफले गत आर्थिक वर्षमा मात्रै रु नौ अर्बको व्यवसाय गरेको छ । बीमा बजारमा १८ प्रतिशतको हिस्सामा रहेको नेपाल लाइफ आजको दिनमा आइपुग्दा ३० प्रतिशतको हाराहारीमा छ । जीवन बीमा कम्पनीको हकमा एक तिहाइ हिस्सा त नेपाल लाइफकै छ ।
हरेक कम्पनीका आफ्नै काम गर्ने शैली र रणनीति हुन्छ । जीवन बीमाको नाम लिने बित्तिकै सबैको मुखमा नाम आइहाल्छ, नेपाल लाइफ । नेपालका बीमा कम्पनी बलिया छैनन्, यिनीहरुले भुक्तानी दिँदैनन्, एकाध वर्ष चलाउँछन् र भाग्छन् भन्ने बजारमा मनोविज्ञान थियो । धेरैले क्षणिक लाभ¬–हानिको मात्रै हिसाबकिताब गरेर बसेका थिए । बीमाबारे बुझेका भनिएकाहरु पनि सीमापारि जान्थे बीमा गर्न तर आज अवस्था फेरिएको छ । रु २० करोड सञ्चालकको लगानी र रु पाँच करोड नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफले बीमा क्षेत्रको इतिहास नै बदलिदिएको छ ।
बीमामा विशेषगरी विश्वास बेचिन्छ । नेपाल लाइफको मन्त्र पनि त्यही हो । उसले विश्वास बेचेको छ । एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’ । अवधि पुगेकाले समेत बीमा रकम लिएर पुनः बीमा गर्न आउँछन् । शुरुआती दिनमा ‘नेक टू नेक’ व्यापार गर्ने अन्य बीमा कम्पनीलाई धेरै पछाडि छाडेर लामो दौडको घोडाका रुपमा आफूहरु अगाडि बढेको झाको दाबी छ ।
उहाँको आफ्नै सिद्धान्त छ ‘बिल्ड टू लास्ट’ । जति पनि रणनीति लिइन्छ, त्यो लामो समयका लागि हो । विश्वका उत्कृष्ट दशमा पर्ने बीमा कम्पनीको इतिहास हेर्ने हो भने पनि उनीहरुले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदाका लागि काम गरेका छन् । विशेषतः बिमितको विश्वास खण्डित हुन दिनुहुँदैन, परेको बेलामा प्राप्त हुने सहयोग नै जीवनभरका लागि स्मरण बन्न सक्छ ।
नेपालमा बीमाको हिस्सा करीब २५ प्रतिशतको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जानेका लागि गरिने म्यादी जीवन बीमाको तथ्याङ्क यसमा छैन । भारतको भन्दा नेपालको बीमा विस्तार राम्रो छ । कतिपय कम्पनी समस्यामा परेको बेलामा पनि नेपाल लाइफको गति भने एउटै छ । दश लाखभन्दा बढी त बीमा गर्ने नै पुगिसके । सबै कोषको हिसाब गर्ने हो भने करीब एक खर्बको हाराहारीमा पुगिसकेको छ । शेयरधनीले पनि राम्रै लाभांश पाएका छन् । बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन् ।
जतिबेला विश्वासको परीक्षण हुन्छ नि त्यो बेला उसले आफ्नो जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने विषय महत्वपूर्ण हुन्छ । चालीस हजारको हाराहारीमा अभिकर्ता बनाएको नेपाल लाइफका प्रमुख झाको भनाइ छ । “परेको बेलामा म यस्तो गर्छु है भन्नेले जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने कुरा नै महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “बिमितलाई पर्ने विश्वास नै हाम्रो प्रमुख सम्पत्ति हो, त्यो नै हाम्रो परीक्षण हो, हामीले भनेको कुरा पूरा ग¥यौ भने त्यो सही ठहरियो, गर्न सकेनौँ भने त्यो असफल भयो ।”
बिमितलाई दिएको विश्वास र प्रतिबद्धता पूरा गरेकै कारण नेपाल लाइफ लोकप्रिय भएको झा बताउनुहुन्छ । आज कुनै काम गरिँदैछ भने त्यो आजका लागि मात्रै नभई भोलिका लागि हो भन्नेमा स्पष्ट हुनुपर्ने फराकिलो सोच छ उहाँमा । गाउँमा सबैको एउटै पण्डित हुन्छ, हजुरबा, बाबा र छोराका पनि । किन त्यस्तो भयो होला, उदाहरण पेश गर्दै झा भन्नुहुन्छ, “त्यो विश्वास होइन र ? बीमा पनि त्यस्तै हो, जहाँ राम्रो हुन्छ र अपनत्व महसुस हुन्छ, त्यही न मान्छे आउने हुन् ।”
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । हिमाल पग्लिैछ, भूकम्पको त्रास पनि उस्तै छ । विपद्ले ल्याउने जोखिमबाट जुध्न पनि बीमा जरुरी छ । समयले मान्छेलाई सिकाउँदै लगेको छ । फजुल खर्च जोगाउने हो भने सहजै बीमा गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । भौतिक सुख सुविधा बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो समस्या देखिँदैछ त्यो हो जलवायु परिवर्तन । त्यसले महामारी ल्याउँदैछ । छिमेकी देश चीन यतिखेर नोबल कोराना भाइरसको महामारीमा छ ।
वातावरणीय सन्तुलनमा आएको बदलावका कारण महामारी मात्रै नभई नयाँ प्रकारका रोगसमेत देखा परेको छ । झाको बुझाइ छ, “तपाईं र तपाईंको परिवारलाई सुरक्षित राख्ने र उनीहरुलाई साँच्चै माया गर्ने भए एकमात्र विकल्प भनेकै बीमा हो ।” विगतका केही बुझाइ कारण बीमामा केही विकृति पनि देखिए । जुन कारणले बीमा गर्नुपर्ने थियो, त्योभन्दा बाहिर गएर प्रचार गरियो । बचत मात्रै गर्ने भए बैंक तथा वित्तीय संस्था छन् । जोखिम व्यवस्थापन र बचत दुवै गर्ने भए बीमा उपयुक्त माध्यम हो भन्ने कुरालाई नेपाल लाइफले स्थापित गरेको छ ।
परिवारका लागि गरिने अरू खर्चको स्थानमा बीमा पनि राखेर हेर्नुपर्ने उहाँको सुझाव छ । आफूलाई कुन उपयुक्त लाग्छ, सोही ‘पोलिसी’ लिन सकिन्छ । बचत लिने कि जोखिम बहन गर्ने पनि लिने, त्यो बीमा गर्नेको इच्छा भयो तर समयमा बीमा नगर्दा कुनै भवितव्यमा परेर कोही कसैको निधन भयो भने त्यसले आफू त जान्छ नै कमाउने माध्यम पनि लिएर जान्छ तर परिवारलाई ऋण मात्रै छाडिदिन्छ । त्यसकारण बीमा जरुरी छ । समान्य भाषामा आफ्नो धारणा राख्दै झाले भन्नुभयो, “सुरक्षाका लागि योभन्दा उपयुक्त विधि अरू के हुन सक्ला ?”
विगतमा बीमा कम्पनीप्रतिको विश्वास नै कम थियो । कम्पनी रहन्छ कि रहँदैन, १५ वर्षपछि पैसा कसरी लिने भन्ने थियो तर नेपाल लाइफले बिमितलाई तपाईंको अवधि पूरा भयो, रकम लिन आउनुस् भनेर फोन नै गर्न थालेको पनि धेरै भयो । “बिमितले बिर्सेको भए पनि हामीले फोन गरेर नै रकम लिन आउनुस् भन्न थालेका छौँ, पैसा तिर्नमात्र होइन, लिन आउनुस् भनेर हामीले शुरु गर्दै गर्दा विश्वासको मात्रामा यत्ति धेरै बढोत्तरी भएको छ कि नेपाल लाइफको ‘माउथ पब्लिसिटी’ नै भएको छ”, उहाँले सुनाउनुभयो । कम्पनीको सुरक्षित जीवन बीमा बढी प्रचलित छ ।
यस्तै ‘मनी ब्याक’ योजना पनि उस्तै लोकप्रिय छ । कुनै दीर्घरोग लाग्यो वा ‘क्रिटिकल इलनेस’ भयो भने कुनै पनि गुनासो नराखी बीमा रकम उपलब्ध गराएको झाको दाबी छ । दुर्घटनामा कोही प¥यो भने उसलाई एकाध दिनमा नै रकम दिने व्यवस्था गरिएको भन्दै प्रमुख कार्यकारी अधिकृत झा नेपाल लाइफको टेलिभिजनमा बज्ने विज्ञापनले भन्ने जस्तै सबैलाई सहज रुपमा जोखिम बहन गरिरहेको बताउनुहुन्छ ।
केहीले बीमा रकम लिन लामो समय लगाएको गुनासो पनि आएको छ । बीमा गर्दा दिइने कागजातमा उल्लेख गरिएका सर्तहरु लागू हुने