

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केही जिल्लामा भारी वर्षासमेत भएको थियो।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। साथै मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।