यात्रा गर्दा सावधानी अपनाउन आग्रह, नारायणगढ-मुग्लिन सडक खण्डमा जोखिम बढ्दाे

यात्रा गर्दा सावधानी अपनाउन आग्रह, नारायणगढ-मुग्लिन सडक खण्डमा जोखिम बढ्दाे

चितवन । हिजोदेखि परिरहेको वर्षाले काठमाडौं–चितवन जोड्ने मुख्य राजमार्गमा जोखिम बढेको छ। शनिबार बिहान ६ बजेदेखि धादिङको वेनिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। केही समयपछि पहिरो पन्छाइएर बाटो दुबैतर्फ सञ्चालनमा आएको छ।

तर चितवनतर्फको तुइनखोलामा ढुङ्गा खस्दा हाल सडक एकतर्फी सञ्चालन भइरहेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

जवाङ खोला र तुइनखोला दुवै स्थान केही सातादेखि लगातार पहिरो खस्ने संवेदनशील क्षेत्रका रूपमा चिनिएका छन्। एक साताअघि जवाङ खोलामा ठूलो पहिरो खसेको थियो भने तुइनखोलामा ढुङ्गासहितको स-साना पहिरो दिनहुँजसो खसिरहेको छ।

चितवन प्रहरीले निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका अन्य स्थानहरूमा पनि ढुङ्गा खस्ने घटना भइरहेको जनाएको छ। साथै यात्रु र चालकहरूलाई सतर्क रहन आग्रह गरेको छ।