राप्ती नदी जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण

राप्ती नदी जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण

काठमाडौँ, २१ असोज।नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको सेनाले जानकारी दिएको छ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।रासस