आज २८ औँ विश्व आदिवासी दिवस

आज २८ औँ विश्व आदिवासी दिवस

काठमाडौँ, २४ साउन।आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिँदै समावेशिताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले आदीवासी जनजाति नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै उक्त समुदायको विकास गरेर मात्रै समृद्धिको सपना यथार्थमा परिणत हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले संविधानले नै सामाजीक न्याय र समावेशिता सम्बन्धी व्यवस्था गरी आदिवासी जनजातीलाई समान अधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा उल्लेखित हकअधिकारको प्रत्याभूति गर्न सरकार क्रियाशिल रहेको स्पष्ट पार्नुभयो । लोकतन्त्र प्राप्तिका लागि आदिवासी समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले त्यसको सधैँ कदर गर्ने पनि बताउनुभयो ।