कोभिड-१९ र जनस्वास्थ्यकर्मीको अनुभव

कोभिड-१९ र जनस्वास्थ्यकर्मीको अनुभव

-परमानन्द मण्डल, पूजा पोखरेल-
जनस्वास्थ्यकर्मी

निरन्तर र दरिलो मनोबलका साथहामी दुबै श्रीमान श्रीमतीले कोभिड १९ लाई परास्त गर्न सफल भएका आज पनि १० दिन भन्दा बढी भइसक्यो । हामी दुबै जना गैरसरकारी संस्थामा विगत एक दशक भन्दा बढाी समय देखि जनस्वास्थ्यकर्मीको रुपमा कार्यरत छौ । हाम्रो काम नै जनसमाजको स्वास्थ्य प्रबर्धन गर्नु र रोग लाग्न नदिनका लागी काम गर्नु हो । नेपाल सरकारले टि.भि., रेडियो यतिसम्म कि फोनको कल ब्याक टोन आदिमा समेत कोभिडको बारेमा जनचेतनामूलक सन्देश दिनहुँ फुकेको हुन्छ ।सबै साबधानी अपनाउँदा अपनाउँदै पनि हामी दुबै कोभिड १९ बाट संक्रमित हुन पुग्यौं ।

सर्लाहीको मलंगवामा एक भाडाको कोठामा हाम्रोे कोभिड संक्रमणको संघर्षमय यात्रा सुरु भयो । बिहानपक अचानक नाकको गन्ध, जीब्रोको स्वाद हरायो । शरीरको हरेक जोर्नी तथा मांशपेशीहरु असाध्यै दुख्न थाल्यो । साँझ परेपछि ज्वरो पनि आउन थाल्यो । ति लक्षणहरु देखिदा पक्कै पनि कोभिड संक्रमण भयोे भनेर हामीलाई शंका लागी सकेको थियो । थप सावधानिका लागि अरु सँग सहयोग माग्ने परिस्थिति पनि रहेन ।

जिल्ला अस्पताल गएर घन्टौ चर्को घाममा लाईनमा बसेर स्वावको स्याम्पल दियौं र चिकित्सकको सल्लाह अनुसार औषधी खान सुरु गर्‍यौं । भोलीपल्ट हामी दुबैको रिर्पोट पोजेटिभ आयो । हामीले तीन हप्ता अगाडि मात्र कोभिसिल्ड खोपको दुबै डोज लगाएका थियौं। खोप लगाउन ढिला गर्नु हुदैन भन्ने कुरामा हामी अवगत थियौं । खोप लगाई सकेता पनि भाईरसले हामो्र शरीरलाई उत्तिकै पिडा दिएको थियो । शारीरिक साथै मानसिक कष्टहरु पनि खेप्न परेको थियो । तर पनि कुनै किसिमको जटिल समस्या हामीले भोग्नु परेन ।

यसको मुख्य ५ कारण थियो

१. खोप उपलब्ध हुने बित्तिकै खोप लगाएकोले
२. दैनिक रुपमा योग, व्यायम र पोषिलो खानपान
३. दिर्घ रोग कुनै पनि नभएको र सधै स्वस्थ जिवनशैली अपनाएको
४. सकारात्मक सोच र निरन्तर साथिभाई, ईष्टमित्रहरु सँगको फोन र भिडियो कलमा भलाकुसारी
५. पर्याप्त आराम, पारिवारिकमाया ममता र सामिप्यता

बेला-बेला सामाजिक सन्जाल मा देखिने श्रद्धाञ्जलिले मन बिचलित त बनाउथ्यो । तर पनि हामीलाई करिब २ हप्ता सम्म शारीरिक कष्ट धेरै भएता पनि मानसिक रुपमा हामी कमजोर भएनौ । दुबै संक्रमित भएकोले र अरु कोही पनि भौतिक रुपमा हेरचाह गर्ने नभएकोले सुरुका केहि दिन खाना पकाएर खान समस्या भयो । तर पनि हामी पालै पालो भान्सामा गएर खाना पकाउने गर्थ्याै । खाना पकाउने समयमा ग्याँसको अगाडी उभिँदा हामीलाई स्वास फेर्न गार्‍हो हुन्थ्यो ।

अक्सिजनको लेभल पनि घट्थ्यो । अनि हामी प्रोन पोजिसनमा सुतेर लामो स्वाश फेर्ने गर्थ्यौ । त्यसो गर्दा धेरै आराम मिल्थ्यो । बिहान उठ्ने बित्तिकै प्राणायम, ऊँ कारको उच्चारण, महामृत्युन्जय मन्त्रको जाप र हनुमान चालिसाले हामीलाई दिन भरी छुट्टै उर्जा दिन्थ्यो । हामी टि.भि., रेडियो र सामाजिक सन्जालमा आएका समाचारहरु विशेष गरी कोभिडसँग सम्बन्धित समाचारप्रति धेरै चासो राखेनौं । साथी भाईले दिएको अपडेट नै हाम्रो लागी समाचारको माध्यम बनेको थियो । कमेडि सो, रोमान्टिक चलचित्र र मधुर संगितहरु सुन्ने र हेर्ने गर्थ्यौ । मलाई चित्रकलामा रुचि भएकोले संक्रमित भएको दुई हप्ता पछी पेन्टिङ्गमा संलग्न हुन थाले । कहिलेकाहि कविता र गजलहरु पनि लेख्न थाले । सँगै व्यायाम गरेर केहि क्षण टिकटक हेर्ने र बनाउने पनि गर्‍यौ । WHO को मापदण्ड अनुसार १४ दिनको आईसोलेसन पछाडी परिक्षण नगरे पनि हुन्थ्यो । तर हामीलाई छोरा आफु भएको ठाउँमा लिएर आउनु पर्ने भएकोले २० दिन पछाडी जाँच गर्दा रिपोर्ट पनि नेगेटिभ आयो । जसले हामीलाई एउटा छुट्टै उर्जा प्रदान गर्‍यो ।

कोभिड भए पछाडी देखिने केहि असरहरु जस्तै छाती दुख्ने, सुख्खा खोकी लाग्ने, निद्रा नलाग्ने जस्ता लक्षणहरु हामीमा देखियो । सुरुमा यसको बारेमा त्यति ज्ञान नभएकोले नेगेटिभ हुँदा पनि किन यस्तो भएको होला भन्ने लागेको थियो । तर पछि चिकित्सक सँग सल्लाह गर्दा, पोस्ट कोभिडको असरको रुपमा यस्ता असरहरु देखिने थाहा भयो । चिकित्सकको सल्लाहमा केहि परिक्षण (X-ray ) रगतको जाँच  गर्‍यौ । सबै रिपोर्ट राम्रो छ, आत्तिनु पर्दैन, आराम गर्ने, सन्तुलित खाना खाने र नियमित व्यायाम गर्नुहोस् भनेर चिकित्सकले सल्लाह दिनु भयो । जुन कुरा हामीले गरिराखेका थियौं । कोभिड भएको आज एक महिना भन्दा बढि भई सकेको छ । तर केही पोष्ट कोभिडका लक्षणहरु देखिरहेको छ । तर हामी सतर्क छौँ र चिकित्सकको सम्पर्कमा छौं । पौष्टीक आहार, निरन्तर प्राणायम, व्यायाम र सकारात्मक सोचको साथ हामी आ-आफ्नाे कार्यलयको काम घरबाट गर्न थालिसकेका छौं ।

हाम्रो सिकाई र बुझाईबाट जनमानसमा हाम्रो सन्देश
१. हामीले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुको कारण अझै सावधानी नपुगेर हो । त्यसैले निरन्तर साबुन पानीले बारम्बार हात धुने गरौं, भिडभाडमा नजाऔं । जिवन रहे फेरी भेटघाट र रमाईलो गरौंला ।

२.ज्वरो आउने, छाति दुख्ने, खोकि लाग्ने, स्वाद नआउने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाऔं र आफुलाई आईसोलेट गर्नुहोला । हामी आफै स्वास्थ्यकर्मी भएर पनि चिकित्सकको सल्लाह बिना कुनै औषधी प्रयोग गरेनौ । कृपया स्वास्थ्यकर्मीको सल्लाह बिना कुनै पनि औंषधीको जथाभावी प्रयोग नगरौं ।

३. कोभिड १९ हुदा मात्र नभई सधै भरी दैनिक रुपमा प्रणायम र व्ययायम गरौं र हुन सक्ने दिर्घकालिन रोगबाट बचौं ।

४. हाम्रो मानसपटल एउटा सुन्दर बगैंचा हो । यसमा सकारात्मक सोचको मात्र बिरुवा रोपौं । सकारात्मक सोच र बिचार धारा राखी सबैमा सकारात्मक उर्जा फैलाऊँ ।

५. हाम्रो शरिरको हकदार हामी नै हो त्यसैले के खाने, के नखाने हाम्रो निर्णयमा भर पर्छ । केबल सन्तुलित भोजनको सेवन गरौं , कुनै किसिमको शरिरलाई हानी गर्ने जाँड, रक्सि, चुरोट, सुर्ति आदी क्षणिक रमाईलो दिने बस्तुबाट टाढा रहौं ।