कांग्रेसकाे क्रियाशील सदस्यताको सूची मंसिरसम्म अद्यावधिक गरिने

कांग्रेसकाे क्रियाशील सदस्यताको सूची मंसिरसम्म अद्यावधिक गरिने

काठमाडौं, १८ साउन । पार्टी मुख्यालय सानेपामा जारी मुख्य बिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले पार्टीको अन्तरिम संरचना गठन गरी मंसिर मसान्तपछि १४औं महाधिवेशनको कार्यतालिका तय गर्ने निर्णय गरेको छ।

महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका शीर्ष नेताहरुको सहमतिपछि तयार पारेको प्रस्ताव शुक्रबारको बैठकमा पेश गर्दै १४औं महाधिवेशनको कार्यतालिका आगामी मंसिर मसान्तपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि प्रक्रिया अघि बढाउने जानकारी गराएका थिए। महामन्त्री खड्काको उक्त प्रस्तावलाई सभापति शेरबहादुर देउवाले निर्णयार्थ पेश गरेपछि बैठकले पारित गरेको हो।

महाधिवेशनको कार्यतालिका तय नभएसम्म बाँकी एजेण्डामाथिको छलफलमा भाग नलिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अडान राखेपछि सभापति देउवासहित उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुको पहलमा शुक्रबारको बैठक शुरु हुनुअघि बरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिं केसी लगायतका नेताहरुबीच अनौपचारिक सहमति भएको थियो।

जस अनुसार, देशको संविधान बमोजिम परिमार्जन भएको पार्टीको नयाँ विधानको दफा ७२ बमेजिम अन्तरिम संरचना गठनको विषयलाई प्राथमिकतामा राखिएको छ।

पार्टीको १३औँ महाधिवेशनको क्रममा बनेका पार्टीका स्थानीय संरचनालाई संघीय व्यवस्था अनुरुप बनेको विधानको धारा ७२ को ४ अनुसार अन्तरिम संरचना गठन गरिने सहमतिमा उल्लेख छ।पार्टीको नियमावलीसँग नबाझिने गरी साउन २२ गतेभित्र निर्देशिका तयार पारी सोही दिन बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने सहमति भएको छ।

नयाँ विधान बमोजिम १३औं महाधिवेशनका बुथ तथा महाधिवेशन प्रतिनिधिहरुकै आधारमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहको अन्तरिम संरचना गठन गरिनेछ।

त्यसैगरी १३औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाएको क्रियाशील सदस्यको अभिलेख मंसिर मसान्तसम्ममा अद्याबधि गरिनेछ । त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले १४ औं महाधिबेशनको कार्यतालिका बनाई प्रकृया अघि बढाउने छ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेसमा तत्कालीन लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिबेदन पेश गरेका थिए। यसैगरी उपसभापति निधिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हालसम्मको कार्यप्रगति बिबरण र आगामी कार्ययोजनाबारे प्रतिबेदन पेश गरेका थिए।

महामन्त्री पूर्णबहादुर खड्काले पहिलो चरणमा सम्पन्न हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्टिय जागरण अभियानको प्रतिबेदन प्रस्तुत गरेका थिए।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

अन्तरिम संरचनाका सम्बन्धमा
१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ । अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।

नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत 
नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक, पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भयो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत
महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते वुधवार दिनको २ः०० बजे पुनः बस्नेछ । 

समवेदना
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । बैठकले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

यसैगरी, बाजुरा गौमुल गाउँपालिका वडा नं. ६, बसाला, शान्तिटोलमा विहिवार राती घरमाथि पहिरो गई वर्ष ३० की निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, बाजुराका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव