नेपाल युएईसंग १ रनले पराजित

नेपाल युएईसंग १ रनले पराजित

काठमाडौं । आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल एक रनले पराजित भएको छ । आज भएको खेलमा नेपालले युएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा नेपाल एक रनले हारेको हो ।

आह भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो ।

डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।

वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । युएईका भ्रितीय अर्भिन्दले अविजित ४७ रन जोडे । यस्तै आन्स टन्डनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका कमल सिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेलेका थिए । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए । वर्षा बाधक बनेको खेलमा पराजित भएसंगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।

नेपाललाई हराएर लगातार दोस्रो जित निकालेको युएई ४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कुवेतको ४ अंक नै छ । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग अप्रील १५ मा खेल्नेछ ।