चाडपर्वमा बजार अनुगमन तीव्र

चाडपर्वमा बजार अनुगमन तीव्र

काठमाडौं । वाणिज्य तथा आपूर्ति संरक्षण विभागले चाडपर्व लक्षित अनुगमन तीव्र पारेको दावी गरेको छ । असोज १ गते यता विभागले चाडपर्व लक्षित अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा पछिल्लो तीन दिनमा मात्रै उपभोक्ता संरक्षण ऐनलाई पालना नगर्ने व्यवसायीलाई साढे तीन लाखभन्दा बढी जरिवाना गरेको छ ।

अनुगमनका क्रममा मूल्य सूची, दर्ता प्रमाण पत्र नराख्ने व्यवसायीलाई ५० हजार, खरिद विल बिजक नराख्ने व्यवसायीलाई १५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ भने कसुर अनुसार सम्झाई बुझाई छोड्ने गरिएको छ । विभागले औषधि विज्ञ, खाद्य विज्ञ, नापतौल विज्ञ, मासु विज्ञसहित क्षेत्र अनुसारको विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको विभागले जनाएको छ ।

चाडपर्वको समयमा समेत अनुगमनका लागि विशेष टोलीको व्यवस्था गरिएकाले ११३७ मा सम्पर्क गरि उजुरी गर्न विभागको अनुरोध छ । यस्तै गृह मन्त्रालयसँग समन्वय गरि ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई तत्काल जरिवाना गर्न सक्ने अधिकारसहित निरीक्षण अधिकृत तोकि बजार अनुमगन तीव्र पार्न विभागले अनुरोध गरेको छ । विभागले नियमित, आकस्मिक र उजुरीको आधारमा बजार अनुगमन गर्दै आएको छ ।