नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले ललितपुर क्षेत्र नं १ मा गरेको विकासका कारण मतदाताले आफूलार्इ जिताउने दावी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्तापछि अर्थराज्य मन्त्री राणाले २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन जितेपछि आफ्नो पहलमा भएका विकासबारे स्थानीय जनता जानकार रहेको बताए । उनले भने, ‘मैले चार बर्षमा गरेका विकास कामहरुबारे सबै जनतालार्इ राम्रोसंग थाहा छ, उहाँहरुले मैले गरेको विकास देखेर मलार्इ विजयी गराउँछन् ।’
२०४८साल देखि २०६४ सम्म चार पटक भएका निर्वाचनबाट चार सांसदको भन्दा आफूले चार बर्षमा धेरै विकास गरेको बताए। ‘२५ बर्षमा जति विकास भएको छ, त्यसको तुलनामा मैले चार बर्षमा दश गुणा बढी काम गरेको छु’ अर्थराज्य मन्त्री राणाले भने ।
उनले बामगठबन्धनले आफूलार्इ कुनै फरक नपार्ने समेत दावी गरे । राणा ललितपुर क्षेत्र नं १ मा लोकप्रीय नेता मानिन्छन्। उनले व्यक्तिगत पहलबाटसमेत धेरै विकासका कार्य गरेको स्थानीय बताउँछन् ।