सन्दीप क्यारेबियन प्रिमियर लिगको प्रारम्भिक ड्राफ्टमा

सन्दीप क्यारेबियन प्रिमियर लिगको प्रारम्भिक ड्राफ्टमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ ।

सिपिएलले जनाए अनुसार कुल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । त्यस्तै इङ्ल्यान्ड, दक्षिण अफ्रीका, न्यू जिल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, जिम्बावे, अफगानिस्तान, आयरल्यान्ड, क्यानाडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि छन् ,’ सिपिएलको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा नेपालको कति वा कुन खेलाडीले नाम दर्ता गरेको सार्वजनिक नभएपनि सन्दीपको नाम रहेको भने बुझिएको छ । ‘ठोस जानकारी नभएपनि सन्दीपको नाम नै दर्ता भएको हुनुपर्छ । उनको पाकिस्तानी एजेन्ट हाल वेस्ट इन्डिजमा रहेकाले एजेन्टले सन्दीपको नाम दर्ता गरेको हुनुपर्छ ,’ राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रम सिवाकोटीले हाम्रो खेलकुदलाई भने, ‘यस बारे पूर्ण जानकारी आउन भने बाँकी छ । ‘

सन्दीप यसअघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा पनि परेका थिए भने आउँदो इन्डियन प्रिमियर लिग आइपिएलका लागि उनी दिल्ली डेयरडेबिल्ससँग आबद्ध छन् ।