काठमाडौं, १२ माघ । संघिय संसद अन्तर्गतको प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह तीन बजे बैठक डाकिएको छ ।
सभामुखमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ । सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी छ ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ । प्रस्तावक र समर्थकहरूले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।