संविधान दिवस : गीत सङ्गीतमय

संविधान दिवस : गीत सङ्गीतमय

–नारायण ढुङ्गाना-

काठमाडौँ, २ असोज । संविधान दिवसको सन्दर्भमा सुरिलो स्वरकी धनी वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दनासँगै ‘कसैले बुझेन मेरो मनको बहलाई’ भन्ने गीत पस्किँदा राष्ट्रिय नाचघरको दर्शकदिर्घामा उपस्थित दर्शक लठ्डै भए । उमेर ढल्किँदै जाँदा पनि उहाँको १६ वर्षे जवानीको झैँ स्वरले सबै लट्ठ परे । उहाँको ऊ बेलाको स्वर र अहिलेको स्वरमा खासै फरक मानेनन् दर्शकले ।

उहाँसँगै अर्का वरिष्ठ गायक हुनुहुन्थ्यो प्रेमध्वज प्रधान । पहिलेपहिले रेडियो नेपालमा खुबै सुनिने उहाँको स्वर नचिन्ने कमै श्रोता होलान् । सांस्कृतिक संस्थानले संविधान दिवसको अबसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा प्रधान पनि गति गाउन तम्सिनुभयो । उहाँले २०१९ सालमा आफैँले गाएको पहिलो गीत प्रस्तुत गर्नुभयो ।

मायाँ नमार मायालु, मायाँ नमार मायालु

दिल नतोड मायालु,

हो.हो.हो…

तिम्रो र हाम्रो दिल मिल्यो राम्रो

साथ नछोडा मायालु

वरिष्ठ कलाकार ज्ञानु राणा र प्रेमध्वज प्रधानको मौलिक र लोकभाकामा गीत सुन्दा संस्कृति पर्यटन तथा नागरक उड्डयनमन्त्री गोगेश भट्टराईसहित वरिष्ठ कलाकार मन्त्रमुग्ध भए । उहाँहरुले गीतको खुलेरै प्रशंसा पनि गरे ।

सांस्कृति संस्थानले दुवै वरिष्ठ गायकलाई सम्मान गरिएको कार्यक्रममा कलाकारले विभिन्न क्षेत्रका मौलिक वेषभूषासहित गति र नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए । उनीहरुले संविधानसम्बन्धी र पर्यटन वर्षसम्बन्धीका गीत पनि गाउन भ्याए । योसँगै विभिन्न ठाउँका जातजातिका मौकिल गीत र नृत्यले उक्त समारोह उत्कृष्ट बनेको थियो ।

कोटी कोटी नेपालीको ढुकढुकी र प्राण

लोकतान्त्रिक अग्रगाम िहाम्रो संविधान

संविधान, संविधान… हाम्रा संविधान,

विसं २०७२ मा बनेको संविधानको विषयमा कलाकारले सुन्दर शब्द उनेर गीत पस्किँदा दर्शकहरु प्रफुल्लित भए । कलाकारले नेपाल भ्रमण वर्ष सन् २०२० पनि गीतबाटै सम्झिए ।

हाम्रो देश सुन्दर छ, अझै सुन्दर पारौँ

समृद्ध नेपालको पाईला अघि सारौँ

घुम्न आउने पर्यटकलाई हाम्रो छ सम्मान

नेपाल भ्रमण वर्षको साझा आह्वान

राष्ट्रिय नाचघरले संविधान दिवसको अवसरमा तीन दिन नै विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सोही क्रममा नाचघर हरेक बेलुकी साङ््गीतिक साँझ बनिरहेको छ । यहाँ झण्डै दुई घण्टाको अवधि कलाकारले छाड्नै नहुने गरी दर्शकलाई बाँधे । समूहगत रुपमा कलाकारले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

मौलिक पोशाकमा सजिएर कलाकारले सुदूरपश्चिमको हुड्केली, थारुको सखिया, काठमाडौँको धिमे, राई समुदायको साकेला नृत्य देखाउँदा दर्शकको राम्रो ताली पायो । उनीहरु मोकिल पोषाकमा सजिएर प्रसतुत भएका थिए ।

साकेला सिकी नाचौँ है

पुर्वको रीति राखौँ है

ए, हो..इ दाजै, पुर्वको रीति राखौँ है

हा..हा, हुर्र..हा..हा..

सोई ढोले सोई… अर्काे ढोले खोई …

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संविधान दिवसलाई नै केन्द्रित गरेर सबै क्षेत्रको पहिचान हुने गरी सांस्कृतिक कार्यक्रम गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले मुलुकको समृद्धिमा सहयोग मिल्ने मन्त्री भट्टराईको प्रतिक्रिया थियो । रासस